Main News

आज र भोलि प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरुको कोरोना परीक्षण हुने

हिमालय टिभी
२०७८ वैशाख २२ गते ७:५०
आज र भोलि प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरुको कोरोना परीक्षण हुने

२२ वैशाख २०७८ काठमाडौं । यही २७ गते बस्ने संसदको विशेष अधिवेशनका लागि आज प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरुको कोरोना परीक्षण गरिँदैछ ।

संघीय संसद् सचिवालले यही वैशाख २७ गते हुने प्रतिनिधिसभा अधिवेशनका लागि आज र भोलि कोभिड–१९ को पीसीआर परीक्षण गराउने भएको हो।

नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बिहान १० देखि अपराह्न ५ बजेसम्म पीसीआर परीक्षण हुने सचिवालयले सूचनामार्फत जानकारी दिएको छ।

आज पहिलो दिन सभामुख, राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्ष, प्रतिनिधिभा र राष्ट्रियसभाका सम्पूर्ण सदस्यको परीक्षण गरिनेछ । आजै संसदका महासचिव, सचिव, कार्यव्यवस्था परामर्श शाखा र सांसद व्यवस्थापन शाखासहित संसद् सचिवालयका सम्पूर्ण कर्मचारीको परीक्षण हुने छ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, मर्यादापालक, संसदीय मामिलासँग आबद्ध पत्रकार, स्वकीय सचिवालयका कर्मचारी, ट्राफिक, बम डिस्पोज र अन्य सम्बन्धित व्यक्तिको कोभिड–१९ को पीसीआर परीक्षण भोलि हुने छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रतिनिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न चाहेको जनाउँदै यही वैशाख २७ गते सोमबार प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *