राजनीति

प्रधानमन्त्री ओलीको षड्यन्त्रपूर्ण प्रयास विफल पार्ने कांग्रेस र माओवादीको निर्णय

हिमालय टिभी
२०७८ वैशाख २१ गते १८:३४
प्रधानमन्त्री ओलीको षड्यन्त्रपूर्ण प्रयास विफल पार्ने कांग्रेस र माओवादीको निर्णय

२१ वैशाख २०७८ काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले विश्वासको मत लिने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम षडयन्त्रपूर्ण भन्दै असफल पार्ने निर्णय गरेका छन् ।

पहिले विश्वासको मत लिन अस्वीकार गरेका प्रधानमन्त्री ओलीले एकाएक विश्वासको मत लिनकै लागि संसद बोलाएपछि त्यसमा षडयन्त्र देखेका हुन् ।

नेपाली कांग्रेसको पदाधिकारी बैठकले प्रधानमन्त्री ओलीको विश्वासको मत लिने प्रयास असफल पार्ने निर्णय गरेको हो । बैठकपछि कांग्रेस सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले प्रधानमन्त्रीको योजनालाई रोक्ने र त्यसका लागि अरु दलसँग छलफल गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

यस्तै नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले पनि प्रधानमन्त्रीलाई विश्वासको मत लिनबाट रोक्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको कदम षडयन्त्र पूर्ण भन्दै माओवादी केन्द्रले सचेतता पूर्वक अघि बढ्नुपर्ने निष्कर्ष निकालेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको संवादपछि बसेको दुवै दलको बैठकले प्रधानमन्त्री ओलीलाई निशाना बनाउने निर्णय गरेको हो ।

कांग्रेसले पहिले विश्वासको मत लिने प्रयासलाई असफल पारेर वैकल्पिक सरकार अघि बढाउने निर्णय पनि गरेको छ ।

माओवादी केन्द्रले प्रधानमन्त्री ओलीले प्रतिगामी योजनामै अघि बढेको भन्दै सबै शक्ति एक हुनुपर्नेमा जोड दिएको छ ।

माओवादी केन्द्रले प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता लिने निर्णय पनि गरेको छ । पहिले प्रधानमन्त्रीले पटक पटक चुनौती दिँदा पनि फिर्ता नलिएको माओवादीले प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिने निर्णय गरेपछि समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्