अस्पतालले भर्ना नलिएपछि शंकास्पद संक्रमितको सडकपेटीमै मृत्यु
२१ वैशाख २०७८ धनुषा । धनुषाका एक शंकास्पद कोरोना संक्रमितको अस्पतालले भर्ना नलिएकै कारण सडक पेटीमै मृत्यु भएको छ ।
प्रदेश दुई सरकारले कोरोनासँग लड्न पूर्ण रूपमा तयार रहेको दाबी गरे पनि धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर–४ मा बस्दै आएका ४५ वर्षीय लोकबहादुर परियारको उपचार अभावमा सडकमै ज्यान गएको हो ।
पछिल्लो पाँच दिनदेखि रूघाखोकी र ज्वरो आएका परियारले घरमै सामान्य उपचार गराइरहनु भएको थियो । सास फेर्न कठिन भएपछि एम्बुलेन्स चालक रामबाबु महतोले हिजो साँझ प्रादेशिक अस्पताल जनकपुरधाम पुर्याउनु भएको थियो । अस्पतालले बेड अभाव भन्दै भर्ना लिन मानेन ।
त्यसपछि चालक महतोले परियारलाई जानकी हेल्थ केयर पुर्याउनु भयो । त्यहाँ पनि अस्पतालले बेड खाली नरहेको भन्दै फर्काइदियो। त्यसपछि रामजानकी हस्पिटलमा पनि उहाँको भर्ना भएन ।
करिब एक घण्टासम्म विभिन्न अस्पताल चहार्दा पनि कुनै अस्पतालले भर्ना लिन नमानेपछि अन्त्यमा घर फर्कनुभएको थियो । स्वास्थ्यमा थप समस्या आएपछि छिमेकीले आज बिहान आरपी मेडिकल हल लैजाने तयारी गर्दा मेडिकलसम्म नपुग्दै सिँडीमै ढलेका परियारको त्यहीँ मृत्यु भएको छ ।
परियारको शव अहिले आरपी मेडिकलको बाहिरै छ । मृतकका आफन्त समेत शव छाडेर आफ्नो घर पुगेका छन् । शव अहिले बेवारिसे भएको छ ।
प्रतिक्रिया