Main News

गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रमुख हटाएर नयाँ नियुक्त

हिमालय टिभी
२०७८ वैशाख २० गते १८:४६
गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रमुख हटाएर नयाँ नियुक्त

२० वैशाख २०७८ काठमाडौं । सरकारले गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशका प्रमुख शर्मिला त्रिपाठीलाई हटाएर नयाँ नियुक्ति गरेको छ ।

सरकारको सिफारिसमा राष्टपति विद्यादेवी भण्डारीले माओवादी केन्द्रको कोटाबाट नियुक्त शेरचन र त्रिपाठीलाई हटाएर नयाँ नियुक्ति गर्नुभएको हो । गण्डकी प्रदेशमा प्रधानमन्त्री केपी शर्मा ओली निकट सीता पौडेल र सुदुरपश्चिममा गंगाप्रसाद यादवलाई नियुक्त गरिएको छ ।

नवनियुक्त प्रदेश प्रमुखको आजै राष्ट्रपति भवन शीतल निवासमा सपथ ग्रहण भएको छ । प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार समेत रहेकी पौडेल एमालेको भ्रातृ संगठन अखिल नेपाल महिला संघकी अध्यक्ष हुनुहुन्छ ।

त्यस्तै यादव भने दोस्रो संविधान सभाका उपाध्यक्ष हुनुहुन्छ । राप्रपा नेपालबाट उपसभामुख बनेका यादव २०७४ सालको चुनावअघि एमालेमा प्रवेश गर्नुभएको थियो । यादव समानुपातिक सूचीमा रहे पनि सांसद बन्न पाउनुभएको थिएन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले समस्यामा परेका आफ्नो पार्टीका मुख्यमन्त्रीलाई सहयोग र अरु पार्टीका मुख्यमन्त्रीलाई अफ्ठेरो पार्ने गरी प्रदेश प्रमुख फेर्नुभएको छ ।

पछिल्लो नियुक्ति त्यसैको परिणाम हो । अविश्वास प्रस्तावका कारण समस्यामा परेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुंगलाई सहयोग मिल्ने गरी पौडेल र आफूले हटाउन चाहेका सुदूरपश्चिम प्रदेशका माओवादी मुख्यमन्त्री त्रिलोचन भट्टलाई अफ्ठेरो पार्ने गरी यादवलाई नियुक्त गरिएको छ ।

यसअघि प्रधानमन्त्रीले जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूहका नेता लालबाबु राउत मुख्यमन्त्री रहेको प्रदेश २ का प्रमुख तिलक परियारलाई हटाएर राजेश झालाई नियुक्त गर्नुभएको थियो ।

प्रदेश प्रमुख फेरेर प्रधानमन्त्रीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बदला लिनुभएको छ । अमिक शेरचन, तिलक परियार र शर्मिला त्रिपाठी तीनै जना प्रचण्ड निकट हुनुहुन्छ ।

प्रधानमन्त्री ओलीले प्रदेश प्रमुखहरु संवैधानिक व्यवस्था अनुसार भन्दा पनि आफ्नो ईशारामा चलोस भन्ने चाहेको देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *