Main News

कडा खालको लकडाउन गर्ने तयारीमा सरकार (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख २० गते १८:०५
कडा खालको लकडाउन गर्ने तयारीमा सरकार (भिडियो रिपोर्टसहित)

२० वैशाख २०७८ काठमाडौं । निषेधाज्ञा लगाउँदा पनि कोरोना संक्रमण नरोकिएको भन्दै सरकारले कडा खालको लकडाउन गर्ने तयारी गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै यसबारे जानकारी दिनुभएको हो । सम्बोधनमा प्रधानमन्त्री ओलीले संक्रमणको चेन तोड्न लकडाउनमा जानुको विकल्प नभएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नागरिकको जीवनरक्षा सरकारको दायित्व भएको भन्दै संक्रमितको उपचारका लागि विभिन्न तयारी गरिरहेको समेत जनाउनुभएको छ ।

उहाँले निजि अस्पताललाई पनि अब कोभिड अस्पतालका रुपमा संचालन गर्ने तयारी भइरहेको जनाउनुभएको छ ।

यस्तै प्रधानमन्त्री ओलीले रङ्गशाला, सभाहल, पार्टी प्यालेस, होटल, कारखाना, गोदामघर लगायतका संरचना प्रयोग गरी सुविधायुक्त क्वारेन्टिन, आइसोलेसन केन्द्र र आवश्यक होल्डिङ सेन्टर बनाउन लागेको जानकारी पनि दिनुभएको छ ।

सरकारले सबै सरकारी तथा निजी अस्पतालले आफूकहाँ उपलब्ध शैया र तीमध्ये प्रयोग भएका वा नभएका शैयाको दैनिक विवरण बुझाउनुपर्ने नियम पनि लगाएको छ ।

कुनै अस्पतालले विवरण पूरा नपठाई शैया लुकाएको भेटिए कारबाही गर्ने प्रधानमन्त्रीले चेतावनी दिनुभएको छ । उहाँले जनशक्तिको अभाव हुन नदिन सङ्घ, प्रदेश र स्थानीय तहमा अवकाशप्राप्त चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई एक वर्षका लागि करारमा भर्ना गर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले कोरोनाको उपचारमा प्रत्यक्ष रूपमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई शुरु तलब स्केलको ५० प्रतिशत जोखिम भत्ता, परिवारको उपचार र बीमाको व्यवस्था गर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले जनस्वास्थ्य मापदण्ड पालना गराउन सुरक्षाकर्मीलाई टोल, बस्ती, गल्ली तथा अन्य ठाउँमा परिचालन गरी चौबीसै घण्टा अनुगमन र निगरानी गर्ने र मापदण्डको उल्लङ्घन गर्नेलाई कानूनबमोजिम दण्डित गर्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *