Main News

रहेनन् कांग्रेस नेता शिवबहादुर खड्का

हिमालय टिभी
२०७८ वैशाख १९ गते २०:४५
रहेनन् कांग्रेस नेता शिवबहादुर खड्का

१९ वैशाख २०७८ काठमाडौं । नेपाली कांग्रेसका नेता शिवबहादुर खड्काको आज यहाँ निधन भएको छ ।

पछिल्लो समय मध्यपुरथिमिमा बस्दै आउनुभएका तत्कालीन संविधानसभा सदस्य खड्का घरको शौचालयमा लडेर घाइते भएपछि गठ्ठाघरस्थित नागरिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

रामेछापको बेथानमा जन्मिनुभएका ७८ वर्षीय खड्का नेपाल विद्यार्थी संघका संस्थापक सदस्य हुनुहुन्थ्यो । पञ्चायतविरुद्ध कांग्रेसले सञ्चालन गरेको आन्दोलनमा उहाँ लामो समय सक्रिय हुनुहुन्थ्यो । पञ्चायतले पार्टी प्रतिबन्ध लगाएको बेला २०३८ सालमा खड्काले रामेछाप कांग्रेसमा जिल्ला सभापति भएर संगठन गर्नुभएको थियो । विसं २०४९ मा तत्कालीन जिल्ला विकास समितिका सभापतिमा निर्वाचित उहाँले पाँच वर्ष काम गर्नुभएको थियो ।

खड्कालाई कांग्रेस सभापति शेरबहादुर देउवाले तत्कालीन कांग्रेस (प्रजातान्त्रिक)का केन्द्रीय सदस्यमा मनोनयन गर्नुभएको थियो । बौद्धिक क्षेत्रबाट राष्ट्रपतिले मनोनयन गर्ने कोटाबाट खड्कालाई संविधानसभा सदस्य बनाइएको थियो ।

खड्काले भद्र अवज्ञा, सत्याग्रहका साथै नेपालमा लोकतन्त्र स्थापनाका लागि भएका हरेक संघर्षमा अग्रपंक्तिमा रहेर नेतृत्वदायी भूमिका निर्वाह गरेको नेपाल तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थले बताउनुभयो । संविधान लेखनमा उहाँको उल्लेखनीय योगदान रहेको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *