राजनीति

लुम्बिनीका मुख्यमन्त्री पोखरेल सपथ नलिँदै यसरी परे अल्पमतमा

हिमालय टिभी
२०७८ वैशाख १९ गते १७:२७
लुम्बिनीका मुख्यमन्त्री पोखरेल सपथ नलिँदै यसरी परे अल्पमतमा

१९ वैशाख २०७८ बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री शंकर पोखरेल शपथ नलिँदै अल्पमतमा पर्नुभएको छ ।

आज दिउँसो दोस्रो कार्यकालका लागि नियुक्त भएका पोखरेल शपथ नलिँदै अल्पमतमा पर्नुभएको हो । एक जना सांसदले राजीनामा दिएका छन् भने अरु तीन जना विपक्षी गठबन्धनमा लागेका छन् ।

विमला ओली नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ भने दूग नारायण पाण्डेले पदबाटै राजीनामा दिनुभएको छ । यस्तै सूर्य चिन्हबाट चुनाव जितेका अजय शाही र धर्मबहादुर लाल श्रीवास्तवले विपक्षी गठबन्धनमा लागेर अर्को सरकार बनाउन हस्ताक्षर गर्नुभएको छ ।

यसले गर्दा मुख्यमन्त्री पोखरेल सपथ लिनु अघि नै अफ्ठेरोमा पर्नुभएको छ । लुम्बिनी प्रदेशको सत्ता र शक्ति संघर्षमा नाटकीय रूपमा मुख्यमन्त्री पोखरेलले विहान राजिनामा दिनुभएको थियो ।

आफूविरुद्धको अविश्वासको प्रस्ताव राजीनामा दिएर असफल पारेका पोखरेलले नेकपा एमालेको एकल बहुमतको सरकार बनाउने दावी प्रदेश प्रमुख समक्ष गर्नुभएको थियो । र, त्यसै अनुसार प्रदेश प्रमुखले पोखरेललाई फेरि नियुक्त गर्नुभएको थियो ।

लुम्बिनी प्रदेश सभामा ४१ सांसद रहेको एमालेको संख्या ४ जना घटेसँगै ३७ मा झरेको छ । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभाबाट जसपाका ४ र माओवादीका २ सदस्य निष्कासित भएसँगै ८१ सदस्य कायम भएको छ । सरकार बनाउन कायम सदस्य संख्याको बहुमत अर्थात ४१ सदस्य चाहिन्छ ।

माओवादीका सभामुख सहित १९ , कांग्रेसका १९ र जसपाका २ सदस्य छन् भने राष्ट्रिय जनमोर्चाका एक सदस्य छन् । पोखरेलको साथ छोडेका दुई जना पनि अब यही गठबन्धनमा छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्