लुम्बिनी प्रदेशसभा शुरु नहुँदै अन्त्यको सिफारिस
१९ वैशाख २०७८ बुटवल । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन शुरु हुँदैछ ।
अहिले केहिबेरमा शुरु हुने अधिवेशनमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव पेश गर्ने कार्यसूची थियो । तर मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि बैठकको कार्यसूची परिवर्तन भएको छ ।
प्रदेश सचिव दुर्लभकुमार पुन मगरले प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्रीको राजीनामा पत्र सुनाउने कार्यसूची रहेको जानकारी दिनुभयो । वैशाख ६ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका ४१ सांसदले हस्ताक्षर गरेर प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।
अविश्वासको प्रस्ताव दर्ता गरेसँगै प्रदेश सभाको विशेष अधिवेशन बोलाउन उनीहरुले समावेदन गरेका थिए ।
त्यसै अनुसार आज विशेष अधिवेशन बोलाइएको भए पनि मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि राजनीतिले अर्को मोड लिएको छ । यसैबीच, लुम्बिनी प्रदेश सरकारले प्रदेशसभा अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ ।
मन्त्रिपरिषदको आज बसेको बैठकले मुख्यमन्त्रीले राजीनामा दिएपछि विशेष अधिवेशन आवश्यक नरहेकोले अन्त्यका लागि सिफारिस गरेको सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार राजीनामासँगै नयाँ सरकारको गठन प्रक्रिया अघि बढेको र अविश्वास प्रस्ताव निष्क्रिय भएकाले अधिवेशन अन्त्य गर्न सिफारिस गरिएको हो ।
प्रतिक्रिया