Main News

अविश्वास प्रस्तावमाथि छलफल गर्न लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन शुरु हुँदै

हिमालय टिभी
२०७८ वैशाख १९ गते ७:५५
अविश्वास प्रस्तावमाथि छलफल गर्न लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन शुरु हुँदै

१९ वैशाख २०७८ बुटवल । अविश्वास प्रस्तावमा निर्णय गर्न बोलाइएको लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आज शुरु हुँदैछ । आज प्रस्ताव संसद् बैठकमा प्रस्तुत हुने र भोलि टुंग्याउने गरी तयारी भएको छ ।

शनिबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विशेष अधिवेशनको एजेन्डामा छलफल भएको थियो। बैठकमा केही सांसदहरूले एकैदिन अविश्वासको प्रस्तावको टुंगो लगाउनुपर्ने बताएका थिए ।

परामर्श समितिको बैठकपछि सभामुख पूर्णबहादुर घर्तीले दुई दिनमा टुंग्याउने गरी कार्यसूची तय गर्नु भएको हो । प्रदेश सभाका सचिव दुर्लभकुमार पुन मगरका अनुसार नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता तथा मुख्यमन्त्रीमा प्रस्तावित कुलप्रसाद केसीले प्रस्ताव पेश गर्ने कार्यसूची छ ।

भोलि मुख्यमन्त्री पोखरेलले जवाफपछि सभामुखले निर्णयार्थ पेस गर्नुहुनेछ । आजको बैठकमा प्रदेश प्रमुख धर्मनाथ यादवबाट अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाइनेछ । त्यस्तै, सांसद पद गुमाएका जनता समाजवादी पार्टीका चारजना सांसदका बारेमा सूचना पढेर सुनाएपछि बैठक अविश्वास प्रस्तावमा केन्द्रित हुनेछ ।

वैशाख ६ गते कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीका ४१ सांसदले हस्ताक्षर गरेर प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । हस्ताक्षर गरेका मध्ये जनता समाजवादी पार्टीका तीन सांसद मन्त्री बनेका छन् । यी तीनसहित जसपाका चारजना पदमुक्त भइसकेका छन् ।

यसअघि ८७ सदस्य रहेको प्रदेशसभामा अब ८१ सांसद भएका छन् । अविश्वासको प्रस्ताव पारित हुन ४१ सांसद आवश्यक पर्दछ । सत्तारुढ नेकपा एमालेसँग ४१ सांसद छन् । कांग्रेसका १९, माओवादी केन्द्रका १७, कारबाही पछि जसपाका २ र राष्टिय जनमोर्चाका १ सांसद छन ।

यो हिसाबले फ्लोर क्रस नभए मुख्यमन्त्री पोखरेल सुरक्षित हुनुहुन्छ। एमालेका २ जना सांसद नेपालखनाल पक्षमा खुलेका छन । कर्णाली प्रदेशमा जस्तै फ्लोर क्रस भए मुख्यमन्त्री पोखरेललाई अप्ठेरो पर्नेछ । पार्टीभित्रको चर्को अन्तरद्वन्द्वका कारण ४१ मत प्राप्त हुनेमा आशंका उब्जिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *