Main News

श्रमिक दिवसले छुँदैन नेपाली मजदूरलाई, दिनहुँ काम नगरे जोडिन्न हातमुख (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख १९ गते ६:०४
श्रमिक दिवसले छुँदैन नेपाली मजदूरलाई, दिनहुँ काम नगरे जोडिन्न हातमुख (भिडियो रिपोर्टसहित)

१८ वैशाख २०७८ काठमाडौं । १ सय ३२ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस आज विश्वभर मनाइएको छ । बढ्दो कोरोना संक्रमणका कारण श्रमिक दिवसका अवसरमा नेपालमा औपचारिक कार्यक्रम भएनन् । हरेक वर्ष यो दिवस मनाए पनि गरिब श्रमिकका दुख भने उस्तै छन् । निषेधाज्ञाको बेलामा पनि उनीहरु कामकै चिन्तामा पिरोलिन बाध्य छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत ११ गते धुमधामका साथ धरहरा उद्घाटन गर्नुभयो । काम नसकिए पनि प्रधानमन्त्रीलाई हतारो थियो त्यसैले उद्घाटनको भयो । तर अहिले पनि धरहरा निर्माणमा अहिले पनि श्रमिकले पसिना बगाइरहेका छन् ।

यी श्रमिकलाई निषेधाज्ञा र मजदुर दिवसले छोएको छैन । दैनिक ज्यालादारीमा काम गर्ने यहाँका श्रमिकलाई निषधाज्ञामा पनि काम नरोकिएकोमा खुसी लागेको छ ।

काठमाडौंकै असन क्षेत्रमा रिक्सा चलाउने रामेछापका गंगा माझीलाई पनि मजदुर दिवसबारे केही थाहा छैन । निषेधाज्ञाका कारण उहाँको आम्दानी छैन । त्यसैले भाडा तिर्न नसकिएला र घरबेटीले कुन दिन निस्केर जा भन्छन् भन्ने मात्रै चिन्ता छ ।

निषेधाज्ञाले सडकमा हिँडडुल गर्न बन्देज छ । तर सूचिकार हरिबहादुर नेपाली भने यो सुनसान सडकमा पनि कोही सिलाउन आउलान् कि भन्ने आशामा हुनुहुन्छ ।

वीर अस्पताल अगाडी सिलाई मेसिन राखेर बस्नु भएका उहाँलाई पनि श्रमिक दिवसबारे चासो छैन । न त कोरोना संक्रमणको डर नै छ । बरु दिउँसो नकमाए बेलुकी के खाने होला भन्ने पिरलो मात्रै छ ।

काठमाडौमा भेटिएका यी प्रतिनिधी पात्र मात्र हुन् । कोरोना सक्रमण बढेसंगै मजदुरी गरेर दैनिक गुजारा चलाउनेलाई अहिले सबैतिर उस्तै समस्या छ । दिनभर काम गरेर बुलुका छाक टार्ने वर्गलाई हरेक वर्ष आउने मजदुर दिवसले छुँदैन । उनीहरुलाई काम गर्न नपाए कसरी हातमुख जोड्ने होला भन्ने मात्रै चिन्ता देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *