Main News

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन भोलि शुरु हुँदै

हिमालय टिभी
२०७८ वैशाख १८ गते १९:०३
लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन भोलि शुरु हुँदै

१८ वैशाख २०७८ बुटवल । अविश्वास प्रस्तावमा निर्णय गर्न बोलाइएको लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन भोलि शुरु हुँदैछ ।

मुख्यमन्त्रीविरुद्ध प्रदेश सभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव भोलीकै बैठकमा पेश हुने छ । नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता तथा मुख्यमन्त्रीमा प्रस्तावित कुलप्रसाद केसीले प्रस्ताव पेश गर्ने कार्यसूची छ ।

प्रस्तावमा विभिन्न दलका सांसदले आफ्नो धारणा राख्नेछन् । पर्सी मुख्यमन्त्री शंकर पोखरेलले जवाफ दिनुहुनेछ । मुख्यमन्त्रीले जवाफ दिएपछि पर्सी नै मतदान हुने कार्यसूची तय गरिएको छ ।

आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदले कोरोना संक्रमणको कारण एकै दिनमा प्रस्तावको टुंगो लगाउन भनेका थिए । तर एमालेले असहमति जनाएपछि दुई दिनमा टुङ्गो लगाउने कार्यसूची तय गरिएको हो ।

वैशाख ६ गते कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीका ४१ सांसदले हस्ताक्षर गरेर प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । हस्ताक्षर गरेका मध्ये जनता समाजवादी पार्टीका चीन सांसद मन्त्री बनेका छन् । यी तीनसहित जसपाका चारजना पदमुक्त भइसकेका छन् ।

यस अघि ८७ सदस्य रहेको प्रदेशसभामा अब ८१ सांसद भएका छन् । अविश्वासको प्रस्ताव पारित हुन ४१ सांसद आवश्यक पर्दछ । सत्तारुढ नेकपा एमालेसँग ४१ सांसद छन् । कांग्रेसका १९, माओवादी केन्द्रका १७, कारबाही पछि जसपाका २ र राष्टिय जनमोर्चाका १ सांसद छन ।

यो हिसाबले फ्लोर क्रस नभए मुख्यमन्त्री पोखरेल सुरक्षित हुनुहुन्छ। एमालेका २ जना सांसद नेपाल खनाल पक्षमा खुलेका छन । कर्णाली प्रदेशमा जस्तै फ्लोर क्रस भए मुख्यमन्त्री पोखरेललाई अप्ठेरो पर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *