सरकारले ‘बेड उपलब्ध गराउन सक्दिँनँ भनेकोमा दलहरुको आपत्ति (भिडियो रिपोर्टसहित)

१८ वैशाख २०७८ काठमाडौं । सरकारले कोरोना संक्रमितका लागि अस्पतालमा बेड उपलब्ध गराउन सक्दिँन भनेकोमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस लगायतका दलले आपत्ति जनाएका छन् ।
उपचार गर्न सक्दिनँ भन्नु सरकारको लाचारी मात्रै नभइ गैर जिम्मेवार प्रवृत्ति भएको कांग्रेसको प्रतिक्रिया छ । प्रवक्ता विश्वप्रकाश शर्माले यो स्वास्थ्य मन्त्रालयले राजीनामा दिएको जस्तै भएको बताउनुभयो ।
कोरोना संक्रमण शुरु भएको एक वर्ष बितिसक्दा पनि सरकारले ठोस काम गर्न नसकेका कारण अहिलेको स्थिति आएको कांग्रेसको दाबी छ।
संकटका बेला राज्यले हरेक नागरिकको अभिभावकत्व ग्रहण गर्नुपर्ने भन्दै कांग्रेसले वस्तुगत स्थितिलाई स्वेतपत्रका रुपमा राखेर निजी क्षेत्रको सहयोग लिन सुझाव दिएको छ ।
नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले सरकारको विज्ञप्तिले त्रास फैलाएको बताउनुभएको छ । उहाँले कोरोना रोकथाम तथा न्युनिकरणमा सरकार नलागि गम्भिर लापरबाही गरेको आरोप पनि लगाउनुभएको छ ।
पहिले लापरबाही गरेर भिड जम्मा गर्ने र पछि सक्दिन भनेर हात उठाउने सरकारको रवैया गैरजिम्मेवारपुर्ण भएको उहाँको भनाई छ । नेता पुनले संक्रमण नियन्त्रणका लागि सर्वदलिय संयन्त्र बनाउन पनि माग गर्नुभएको छ ।
यस्तै विवेकशील साझा पार्टीले पनि सरकार गैरजिम्मेवारपूर्ण बनेको भन्दै आपत्ति जनाएको छ । कोरोनाका कारण उत्पन्न जटिल परिस्थितिसँग जुध्न राज्यका तर्फबाट हर सम्भव उपाय लगाउनुपर्नेमा जिम्मेवारीबाट भागेको भन्दै उसले आलोचना गरेको छ ।
प्रतिक्रिया