Main News

नेपालमा के छ अक्सिजनका अवस्था ? उद्योगी भन्छन्–अक्सिजन होइन, सिलिण्डर अभाव छ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख १८ गते १६:२६
नेपालमा के छ अक्सिजनका अवस्था ? उद्योगी भन्छन्–अक्सिजन होइन, सिलिण्डर अभाव छ (भिडियो रिपोर्टसहित)

१८ वैशाख २०७८ काठमाडौं । कोरोना संक्रमितले अक्सिजन नपाउँदा ज्यान नै जाने खतरा छ । तर नेपालमा भने अक्सिजनको कमी नहुने उत्पादकको दाबी छ । बरु सिलिन्डरको भने अभाव हुन थालेको छ । व्यवसायीले यसतर्फ ध्यान दिन सरकारलाई सुझाव दिएका छन् ।

कोरोना संक्रमण भएका व्यक्तिलाई सास फेर्न गाह्रो भए अक्सिजन दिनुपर्छ । तर कतिपय अस्पतालमा अक्सिजन अभाव हुन थालेको खबर आइरहेको छ । अक्सिजन उत्पादक कम्पनीले भने जति पनि अक्सिजन उत्पादन गर्न सक्ने र अभाव नहुने बताएका छन् । अहिले अनावश्यक रुपमा अक्सिजनका सिलिन्डर घरमा भण्डारण गरेकाले बरु समस्या भएको उनीहरुको भनाइ छ ।

देशभर अक्सिजन उत्पादन गर्ने २५ वटा उद्योग छन् । केही अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट छ । केही उद्योग बन्द भएको भए पनि अक्सिजनको माग बढेसँगै अहिले खुलेका छन् । त्यसैले अहिले नै अक्सिजनको अभाव हुने अवस्था छैन । तर अक्सिजनको सिलिन्डर अभाव भने देखिएको छ । उत्पादकले अक्सिजनको सिलिन्डर प्रयोग गरेपछि फिर्ता गर्न आग्रह गरेका छन् ।

अस्पताल बाहेक सिसा कारखाना, मूर्ती कारखाना, हाइड्रोपावरमा अक्सिजन प्रयोग हुने गरेको छ । स्वास्थ्य मन्त्रालयले यसअघि नै अक्सिजन खपत गर्ने उद्योगलाई बन्द गर्न भनिसकेको छ । ती उद्योगले अहिले पनि अक्सिजन सिलिन्डर राखिरहेका छन् । सरकारले यी उद्योगमा रहेका सिलिन्डर बजारमा निकाल्न सके आपुर्तिमा सहज हुने उद्यागीको सुझाव छ ।

कोरोना संक्रमित मध्ये २० प्रतिशतलाई कुनै पनि बेला अक्सिजन दिनुपर्ने चिकित्सक बताउँछन् । भारतमा अहिले अक्सिजनको अभावमा नागरिकले अकालमा ज्यान गुमाइरहेका छन् ।

त्यसैले नेपालमा पनि अहिले देखि नै अक्सिजनको सहज उपलव्धताका लागि सरकारले सिलिन्डर व्यवस्थापनमा ध्यान दिनुपर्ने खाँचो देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *