Main News

श्रमको सम्मान र मर्यादित काम सरकारको अवधारणाः प्रम ओली

हिमालय टिभी
२०७८ वैशाख १८ गते ७:४२
श्रमको सम्मान र मर्यादित काम सरकारको अवधारणाः प्रम ओली

१८ वैशाख २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमको सम्मान र मर्यादित कामको अवधारणालाई सरकारले प्रवर्द्धन गरिरहेको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका श्रमजीवीप्रति शुभकामना सन्देश दिँदै प्रधानमन्त्रीले यस्तो बताउनुभएको हो । सबै श्रमिकलाई सामाजिक सुरक्षाको विधिद्वारा पुनरपरिभाषित गरेको प्रधानमन्त्रीको भनाइ छ ।

श्रम लचकता र सामाजिक सुरक्षाबीच उचित सन्तुलन सुनिश्चित गरिएको पनि उहाँले बताउनु भएको छ । एक आर्थिक वर्षमा दुई लाखभन्दा बढीलाई न्यूनतम सय दिनको काम वा न्यूनतम ज्यालाको आधा ‘बेरोजगार भत्ता’ उपलब्ध गराएको बताउनुहुँदै उहाँले वैदेशिक रोजगारीमा रहेकाहरूको अधिकार, मर्यादा र सुरक्षाका लागि गन्तव्य मुलुकसँग श्रम सम्झौता गरिएको बताउनुभएको छ ।

स्वदेशमा कार्यरत श्रमिकहरूको बैङ्कमार्फत तलब भुक्तानी गर्ने प्रणाली सुरु गरिएको र योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा करिब १२ हजार रोजगारदाता र दुई लाख श्रमिकहरू आबद्ध भइसकेको उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यस दिवसले श्रमिक अधिकारको रक्षार्थ सम्पूर्ण श्रमजीवीलाई एकताका सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भएको छ ।

यस्तै सभामुख अग्निप्रसाद सापकोटाले कोरोना महामारीको चपेटामा परेका श्रमजीवी मजदूर वर्गका लागि राज्यका तर्फबाट विशेष राहतको कार्यक्रम ल्याउन आग्रह गर्नु भएको छ ।

१३२औँ मजदूर दिवसका अवसरमा शुभकामना दिँदै सापकोटाले कोरोनाका कारण उत्पन्न विषम परिस्थितिले देशभित्रका लाखौँ श्रमिक खाली बस्नुपर्ने अवस्था सिर्जना भएकाले तत्काल उचित कार्यक्रम ल्याउन आग्रह गर्नु भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *