Main News

काठमाडौंमा भेन्टिलेटर र आईसीयू पाउनै मुश्किल(भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख १८ गते ६:१३
काठमाडौंमा भेन्टिलेटर र आईसीयू पाउनै मुश्किल(भिडियो रिपोर्टसहित)

वैशाख २०७८ काठमाडौं । सरकारले कोरोना संक्रमण निकै उच्च गतिमा फैलिरहेको भन्दै स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्था आएको बताएको छ । स्वास्थ्य मन्त्रालयले आज अपील निकालेर २२ वटा जिल्लामा स्थिति भयावह भएको जानकारी दिँदै सबैलाई सचेत गराएको हो । सरकारले स्थिति भयावह भनेका जिल्ला र ती जिल्लामा संक्रमितको स्थिति समेटेर तयार पारिएको यो रिपोर्ट हेर्नुहोस् ।

सरकारका अनुसार काठमाडौं उपत्यकासहित २२ जिल्लामा संक्रमण फैलने दर डरलाग्दो छ । सिकिस्त भएका संक्रमितलाई अस्पतालमा राखेर हेरचाह गर्न बेड उपलब्ध गराउन नसकिने अवस्था आएको स्वास्थ्य मन्त्रालयले चेतावनी दिएको छ ।

मन्त्रालयका अनुसार बागमती प्रदेश सबैभन्दा धेरै प्रभावित छ । बागमतीका काठमाडौं उपत्यकाका ३ जिल्लामा मात्रै १७ हजार सक्रिय संक्रमित छन् । काठमाडौंमा १३ हजार १ सय ६६, ललितपुरमा २५ सय ४५ र भक्तपुरमा १३ सय २५ जना संक्रमित छन् ।

यस्तै चितवनमा ९ सय १२ जना छन् । काठमाडौंका सरकारी अस्पतालमा आइसीयू र भेन्टिलेटर पाउन नसकेको गुनासो संक्रमितका आफन्तले गरिरहेका छन् ।

काठमाडौंपछि सबैभन्दा धेरै बाँकेमा ४ हजार सक्रिय संक्रमित छन् । बाँकेका अस्पतालमा बेडको समेत अभाव छ । कति पय संक्रमितले अस्पताल भर्ना हुन पनि पालो पर्खनु पर्ने अवस्था छ । रुपन्देहीमा ३ हजार ३५ र दाङ्गमा १३ सय ७७ जनालाइ संक्रमण भएको छ ।

प्रदेश २ को पर्सा सबैभन्दा धेरै प्रभावित छ । यहाँ १ हजार ८५ जना संक्रमित छन् । प्रदेश २ को राजधानी रहेको जिल्ला धनुषामा ३ सय ४५ जना संक्रमित छन् ।

प्रदेश १ को राजधानी रहेको मोरङ्गमा मात्र ११ सय सक्रिय संक्रमित छन् । योसँगै जोडिएका झापा र सुनसरीमा पनि कोरोना अतिप्रभावित जिल्ला हुन् ।

सरकारले अतिप्रभावित जिल्लामा राखेको सुदूरपश्चिमको कैलालीमा ९ सय ६५ र कञ्चनपुरमा ३ सय ७१ जना गण्डकी प्रदेशको राजधानी रहेको कास्कीमा ९ सय ६५ जना र कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ७ सय ८० जना सक्रिय संक्रमित छन् ।

यी जिल्लालाई अतिप्रभावित सुचिमा राखेर सरकारले विशेष सावधानी अपनाउन सबैलाई अपिल गरेको छ । अतिप्रभावित सबैजसो जिल्लामा निषेधाज्ञा लगाइएको छ । तर पनि निषेधाज्ञाको पालना भइरहेको छैन ।

त्यसैले स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले निकालेको अपिलमा संक्रमणको रोकथामका लागि सरकारले तोकेका जनस्वास्थ्य मापदण्ड कडाईका साथ पालना गर्न अनुरोध गरिएको छ । कतै पनि हिँडडुल नगर्न र सार्वजनिकस्थलमा जाने र भीडभाड गर्ने काम तत्काल बन्द गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *