राजनीति

गण्डकीका विपक्षी दल फेरि सक्रिय, अविस्वास प्रस्ताव अघि बढाउने तयारी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख १८ गते ५:५९
गण्डकीका विपक्षी दल फेरि सक्रिय, अविस्वास प्रस्ताव अघि बढाउने तयारी (भिडियो रिपोर्टसहित)

१८ वैशाख २०७८ पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव अगाडी बढाउन प्रतिपक्ष दलबीच पुनः छलफल सुरु भएको छ । राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही मतदानका दिन हराएपछि स्थगित भएको बैठक अघि बढाउन दलहरु छलफलमा जुटेका छन् । यसैक्रममा जनमोर्चासहितका चार दलको बैठक बसेको छ ।

राष्ट्रिय जनमोर्चाका एक सांसद सम्पर्कविहीन भएपछि रोकिएको गण्डकी प्रदेशको विशेष अधिवेशन फेरी सञ्चालन गर्ने तयारी भइरहेको छ । प्रदेश अधिवेशन शुरु गर्नु अघि सत्ता र प्रतिपक्षी दल रणनीति बनाउन व्यस्त छन् ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले स्वतन्त्र सांसद दीपक मनाङेलाई मन्त्री नियुक्त गरेर आफ्नो पक्षमा एक मत थप्नु भएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच अविश्वास प्रस्तावलाई छिटो टुंगोमा पुर्‍याउन छलफल चलिरहेको छ ।

राष्ट्रिय जनमोर्चामा देखिएको विवादले विपक्षी दलमा केही आशंका छ । तर पछिल्ला छलफलपछि कांग्रेस नेता कृष्णचन्द्र नेपाली अब पहिलेजस्तो घटना नहुनेमा विश्वस्त देखिनुभएको छ ।

अविश्वास प्रस्तावको पक्षमा बहुमत पुग्नेमा तीन दल ढुक्क छन् । मतदान हुने दिन हराएका भनिएका सांसद खिमविक्रम शाहीले पनि विज्ञप्ती निकालेर अविश्वास प्रस्तावका पक्षमा मतदान गर्ने प्रतिबद्धता जनाउनुभएको छ । यसले विपक्षी दलको मनोबल बढेको छ ।

जनमोर्चाले पार्टीको निर्णय कार्यान्वयन गराउन पार्टी महासचिव मनोज भट्टलाई पोखरामा खटाएको छ । बैठकमा सहभागी भएका भट्टले पार्टी निर्णय दायाँबायाँ नहुने भन्दै अन्य दललाई आस्वस्त पार्ने प्रयास गर्नुभयो । पार्टीका सबै सांसदले अविश्वास प्रस्तावको पक्षमा मत हाल्नेमा उहाँ ढुक्क हुनुहुन्छ ।

जनमोर्चाको भरोसामा अविश्वासको प्रस्ताव अगाडी बढाएका तीन दल सांसद हराएको दिन देखि बेचैन छन । वैशाख १५ गते हराएका भनिएका सांसद विरामी भएर अस्पतालमा भर्ना भएको अवस्थामा भेटिनुभएको छ । तर जनमोर्चाको आन्तरिक लफडा भने सकिएको छैन ।

संसदीय दलका नेता कृष्ण थापा दलीय बैठकमा सहभागी हुनु भएको छैन । यसको अर्थ उहाँ पार्टी निर्णयबाट सन्तुष्ट हुनुहुन्न भन्ने हो । जनमोर्चाभित्रको असन्तुष्टि पार्टी निर्णय अवज्ञा गर्ने तहमा पुग्छ वा पुग्दैन त्यसले नै अविश्वास प्रस्ताव पारित हुने नहुने निर्धारण गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्