Main News

देशभर बढ्यो कोरोना संक्रमण दर, अवस्था नाजुक हुने विज्ञको चेतावनी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख १७ गते ६:२२
देशभर बढ्यो कोरोना संक्रमण दर, अवस्था नाजुक हुने विज्ञको चेतावनी (भिडियो रिपोर्टसहित)

१७ वैशाख २०७८ काठमाडौं । पछिल्ला केहिदिनयता कोरोना संक्रमण दर बढ्दो छ । संक्रमितको संख्या मात्रै होइन परीक्षणका आधारमा संक्रमण दर पनि बढेको छ । महामारीको दोस्रो लहरले युवा पुस्ता पनि प्रभावित छ । विज्ञले सबैले सावधानी नअपनाए अवस्था धेरै नाजुक हुन सक्ने चेतावनी दिइरहेका छन् ।

नेपालमा कोरोना परीक्षण गरेकामा संक्रमण देखिने दर निरन्तर बढेको छ । बैशाख १० गतेदेखि १५ गतेसम्मको दर हेर्दा पनि यो स्पष्ट हुन्छ । वैशाख १० गते परीक्षण गरिएकामध्ये २६ दशमलव ४७ प्रतिशतमा संक्रमण देखिएको थियो ।

यस्तै ११ गते ३० दशमलव २०, १२ गते ३० दशमलव ९७, १३ गते २६ दशमलव ७५, १४ गते २७ दशमलव २८ प्रतिशत थियो भने १५ गतेसम्म आइपुग्दा संक्रमण दर ३३ प्रतिशत नाघेको छ ।

यसपटक फैलिएको भाइरस पहिलेको भन्दा बढी संक्रामक देखिएको छ । लक्षण पनि पहिलेभन्दा कडा रहेको विज्ञ बताउँछन् ।

कोरोना संक्रमण सर्ने दर पनि नेपालमा विश्वमै उच्च स्थानमा छ । एक व्यक्तिले नै दुई भन्दा बढी व्यक्तिलाई कोरोना भाइरस सार्ने गरेको तथ्याकं छ । त्यसबाहेक यो पटक सबै उमेर समूहका व्यक्तिमा संक्रमण देखिएको छ । असर पनि सबैमा उस्तै छ । रोग प्रतिरोधात्मक क्षमता बढी भएका भनिएका युवा पुस्तालाई पनि अहिले अक्सिजन दिनु पर्ने अवस्था छ ।

सरकारले अब केहिदिनमै प्रतिदिन ११ हजारको दरले संक्रमित थपिन सक्ने अनुमान गरिएको छ । संक्रमण उच्च हुँदा मृत्युदर पनि बढ्नेछ । केही विज्ञले दैनिक १ सय ५० जनासम्मको ज्यान जान सक्ने आंकलन गरेका छन् । यसले हामी कति गम्भीर अवस्थामा छौं भन्ने स्पष्ट हुन्छ । तर त्यो अवस्था आउँछ नै भन्ने छैन हामीले अपनाउने सावधानीले त्यसलाई रोक्न सक्छ ।

सरकारले अहिले विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ । अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आग्रह गरिरहेको छ । र पटकपटक मास्क अनिवार्य प्रयोग गर्न, हात साबुन पानीले धुन, एक आपसमा दुई मिटरको दूरी कायम गर्न पनि भनिरहेको छ । भारतको जस्तै अवस्था आउन नदिनका लागि आम नागरिक सचेत भएर नियम पालना गर्नुको विकल्प छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *