Main News

सुदू्पश्चिममा ह्वात्तै बढे कोरोना संक्रमित, अस्पतालमा बेड पाउन यस्तो कठिन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख १७ गते ६:०५
सुदू्पश्चिममा ह्वात्तै बढे कोरोना संक्रमित, अस्पतालमा बेड पाउन यस्तो कठिन (भिडियो रिपोर्टसहित)

१७ वैशाख २०७८ धनगढी । कोरोना संक्रमण ह्वात्तै बढेपछि सुदूरपश्चिम प्रदेशका अस्पताल भरिएका छन् । प्रदेशका सरकारी अस्पतालले एकातर्फ जनशक्ति अभाव खेपिरहेका छन् भने अर्कोतर्फ बिरामीका लागि शैय्या अभाव देखिएको छ।

कैलाली र कञ्चनपुरमा सुदूरपश्चिम प्रदेश सरकारले छुट्टै कोरोना अस्पताल निर्माण गरेको थियो । ५०–५० बेड क्षमता भएका यी अस्पतालमा थप बेड राख्दा पनि भरिएको छ ।

प्रदेशको सबैभन्दा ठूलो सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितका लागि ५५ बेड राखिएको छ । उपचार गराइरहेकामध्ये ३ जना भेन्टिलेटर, ११ जना आईसीयू, २५ जना अक्सिजनको सहायता र १५ जना अक्सिजन मोडरेटमा छन्। अब नयाँ संक्रमित आए कोभिड अस्पतालमा भर्ना गर्न सक्ने अवस्था छैन ।

कञ्चनपुरमा रहेको महाकाली अस्पतालको कोभिड केद्रमा ४८ जना संक्रमितको उपचार भइरहेको छ । करिब आधा स्वास्थ्यकर्मी नै आइसोलेशनमा छन भने सीमानाकाबाट दिनानुदिन संक्रमित आउने क्रम झनै बढेको छ।

महाकाली अस्पतालमा जम्मा १ सय शैय्या मात्रै छन् । जनशक्ति र उपकरण अभाव खेपिरहेको महाकाली अस्पतालमा कोभिडका बिरामी बढ्दै गए उपचार गर्न चुनौति छ। डडेल्धुरा अस्पतालमा २१ शैय्याको कोभिड वार्ड बनाइएकोमा ७ जना उपचाररत छन् । यही गतिले संक्रमण बढे भारतकै जस्तो अवस्था हुनसक्ने चिकित्सकको चेतावनी छ ।

सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा रहेका १२ ओटा सरकारी अस्पतालमा जम्मा ९ सय २२ बेड छन । प्रदेशभरका सरकारी अस्पतालमा संक्रमितको उपचारको लागि २ सय ५१ शैया रहेको सरकारी दाबी छ।

निजी अस्पताल सञ्चालकले समेत एक सय बेड कोरोना संक्रमितका लागि छुट्याएको बताएका छन् । सरकारी अस्पतालमा जनशक्ति अभाव भएकाले प्रदेश सरकार अहिले करारमा कर्मचारी भर्ना गर्ने तयारीमा छ ।

प्रदेशभर कोरोनाका गम्भीर बिरामी अहिलेकै गतिमा बढेमा शैय्यासँगै अक्सिजन र अन्य औषधिको समेत अभाव हुने भन्दै चिन्ता व्यक्त गरिएको छ । संक्रमित बढेसंगै मुत्यु दर पनि बढि रहेका कारण कोभिडसँग जुध्न तीनै तहका सरकार जुट्न आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *