Main News

नेपालगञ्जमा अक्सिजनको अभाव हुँदै, उद्योगका सिलिन्डर पनि अस्पतालमा लगियो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख १७ गते ५:५६
नेपालगञ्जमा अक्सिजनको अभाव हुँदै, उद्योगका सिलिन्डर पनि अस्पतालमा लगियो (भिडियो रिपोर्टसहित)

१७ वैशाख २०७८ बाँके । कोरोनाका गम्भीर संक्रिमतको संख्या बढेपछि नेपालगन्जको भेरी अस्पताललाई अक्सिजन पुराउन हम्मे हम्मे पर्न थालेको छ । पछिल्ला दिनमा भेरी अस्पतालमा मात्रै दैनिक ३ सय देखि ४ सय सिलिन्डर अक्सिजन खपत भइरहेको छ । उद्योगको अक्सिजन काटेर अस्पतालमा पुर्याउन थालिएको छ ।

भेरी अस्पतालको आफ्नै अक्सिजन प्लान्ट छैन । सिलिन्डरबाटै कोरोना वार्डमा अक्सिजन सप्लाई गर्ने ब्यबस्था मिलाइएको छ । अवस्था अनुसार एक जना बिरामीलाई दैनिक एकदेखि दुई वटा सिलिन्डर अक्सिजन आवश्यक पर्छ ।

भेरी अस्पतालमा ६६ जना सिकिस्त बिरामी छन । ९ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । सिकिस्त बिरामीको संख्या बढेसँगै अस्पतालको अक्सिजन पाइपलाइन क्षमताले पनि नभ्याउने जोखिम बढेको छ ।

नेपालगन्जको परस्पुरमा अक्सिजन उत्पादन गर्ने उद्योग छ । उद्योगले दैनिक १ हजार सिलिन्डरसम्म अक्सिजन उत्पादन गर्न सक्छ । तर त्यसका लागि २४ घन्टा बिद्युत उपलब्ध हुनुपर्छ ।

बिद्युतको लाइन गएका बेला उत्पादन ठप्प हुन्छ । अक्सिजन उत्पादन भए पछि पनि अस्पताल पुराउन सिलिन्डर आवश्यक पर्छ । पछिल्ला दिनमा अस्पतालमा अक्सिजन सिलिन्डरको अभाव छ । सामान्य अवस्थामा अक्सिजनको आपुर्ति करिब ७० प्रतिशत उद्योगमा र ३० प्रतिशत अस्पतालमा हुन्थ्यो ।

त्यही अनुसार उद्योग र अस्पतालले अक्सिजन सिलिन्डरको ब्यवस्था गरेका थिए । तर पछिल्ला दिनमा अस्पतालमा अक्सिजनको माग ४ सय गुणासम्म बढेको छ । सिलिन्डर अभाव भएपछि स्थानीय प्रशासनको अनुमति बिना उद्योगलाई अक्सिजन दिन बन्द गरिएको छ ।

अस्पतालमा अक्सिजन सिलन्डरको अभाव हुन नदिन अक्सिजन उद्योगसँग पनि प्रशासनले समन्वय गरिरहेको छ । अन्य उद्योगमा रहेका सिलिन्डर समेत ल्याएर अस्पतालमा दिने ब्यवस्था मिलाइएको छ ।

बाँकेमा कोरोनाका सक्रिय संक्रमितको संख्या करिव पाँच हजार छ । नेपालगन्ज र कोहलपुरमा अस्पताल तथा आइशोलेशन केन्द्रमा साढे तीन सय जना संक्रमितको उपचार भई रहेको छ । बाँकी संक्रमित होम आइसोलेशनमा छन । त्यसैले अक्सिजनको माग अझ बढ्ने आंकलन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *