४९ सय २९ जना कोरोना संक्रमित थपिँदा एकैदिन ३५ जनाको मृत्यु (भिडियो रिपोर्टसहित)
१६ वैशाख २०७८ काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट पछिल्लो पटक ३५ जनाको मृत्यु भएको छ । कोरोना महमारीको दोस्रो लहर शुरु भएयता यति धेरैको ज्यान गएको पहिलो हो ।
यसअघि गत आइतबार २८ जनाको मृत्यु भएको थियो । पछिल्लो पटक मृत्यु हुनेमा बागमति, लुम्बिनी र प्रदेश १ मा धेरै छन् ।
पहिलो लहरका बेला एकैदिन ४३ जनासम्मको ज्यान गएको थियो । तर यसपटक भने पहिले भन्दा मृत्युदर बढी देखिएको छ । देशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ सय ४६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो झण्डै पाँच हजार संक्रमित थपिएका छन् । १२ हजार ५ सय ९७ पीसीआर परीक्षण गर्दा ४ हजार ८ सय ३१ जना र ९ सय ६३ एन्टिजेन परीक्षणमा ९७ जना गरी ४९ सय २९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
थपिएका संक्रिमतमध्ये सबै भन्दा धेरै २० देखि २९ वर्ष उमेर समूहका १२ सय ६७ जना छन् । यसले युवा पुस्तामा संक्रमण बढेको देखाएको छ । ३ सय ८४ जना १९ वर्ष मुनिका छन् ।
त्यस्तै ३० देखि ३९ वर्ष उमेर समूहका १२ सय ६० जनामा संक्रमण देखिएको छ । ९० वर्ष भन्दा माथिका ३ जना पनि संक्रमित भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो पटक काठमाण्डौ उपत्यकामा नयाँ संक्रमितको संख्या केही कम देखिएको छ । उपत्यकाका तीन जिल्लामा १५ सय ६१ जनामा संक्रमण पुष्टि भएको छ । ति मध्ये सबैभन्दा धेरै काठमाडौंमा ११ सय २७, ललितपुरमा २ सय ५२ र भक्तपुरमा १ सय ८२ जना छन् ।
उपत्यका बाहिर रुपन्देही र बाँके संक्रमणको हटस्पट बनेका छन् । रुपन्देहीमा ५ सय २८ र बाँकेमा ४ सय ८९ संक्रमित थपिएका छन् । यसैगरी कैलालीमा ३ सय ३९, दाङमा १ सय ८१, पर्सामा १ सय ५० र मोरङमा १ सय ३७ संक्रमित थपिएका छन् ।
देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार १ सय ७ पुगेको छ । ति मध्ये ३ सय ३७ जनाको आइसीयूमा र १ सय ७ जनाको भेन्टिलेटरमा राखेर उपचार भैरहेको छ ।
प्रतिक्रिया