राजनीति

स्वच्छ छविको मानिएको जनमोर्चा पनि संसदीय राजनीतिको फोहोरी खेलमा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख १५ गते २०:४६
स्वच्छ छविको मानिएको जनमोर्चा पनि संसदीय राजनीतिको फोहोरी खेलमा (भिडियो रिपोर्टसहित)

१५ वैशाख २०७८ पोखरा । संसदीय राजनीतिमा तुलनात्मक रुपमा स्वच्छ छविको मानिएको राष्टिय जनमोर्चा पनि संसदीय राजनीतिको विकृतिमा फसेको देखिएको छ । जनमोर्चाको गण्डकी प्रदेश सांसद खिमविक्रम शाही बेपत्ता प्रकरणले त्यही देखाउँछ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई हटाउन वा राख्न जनमोर्चाको निर्णायक भूमिका थियो । त्यसैले उसलाई आ आफ्नो पक्षमा पार्न एमाले, कांग्रेस र माओवादी लागिपरेका थिए । पार्टी केन्द्रको निर्णय बमोजिम जनमोर्चाले अविश्वास प्रस्तावको पक्षमा भोट दिने निर्णय गरेर आप्नो कित्ता प्रष्ट गर्यो ।

तर तानातानको खेल सकिएको थिएन र छैन भन्ने मतदानकै दिन पुष्टि भयो र जनमोर्चाका सांसद खिमविक्रम शाही सदनमा उपस्थित नभई सम्पर्कविहीन हुनुभयो । दिउँसो साढे एक बजेसम्म दलका नेता कृष्ण थापासँग सम्पर्क गरेर आउँछु भनेका शाही पछि हराउनुभयो ।

शाही उपस्थित नहुने छनक पहिले नै दिनुभएको रहेछ, आज सदनमा बोल्ने पालो भए पनि पछि बोल्दिनँ भनेर शाहीले नेता थापालाई जानकारी दिनुभयो । नेता थापाले सँगै लैजाने कोशिस गरेपनि उहाँले पछि आउँछु भनेर टार्नुभयो ।

यता जनमोर्चा दलका नेता थापासँग सांसद शाही सम्पर्कविहीन भएपनि उता स्वकीय सचिव मिलन हमालले शाही बिरामी भएर अस्पताल भर्ना भएको फेसबुकमार्फत सार्वजनिक गर्नुभयो ।

सम्पर्कविहीन भएका बिरामी भएको मात्रै होइन, चरक अस्पतालको कोभिड वार्डमा भर्ना भएको सूचना आयो जसलाई अस्पतालले पनि पुष्टि गरेको छ । तर बिहान कोरोनाको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएका सांसद शाही कोरोना पोजिटिभ रिपोर्ट देखाएर अस्पताल भर्ना भएको बुझिएको छ । र, बिहान नेगेटिभ भएको व्यक्ति दिउँसो पोजिटिभ रिपोर्ट देखाएर भर्ना हुनु आफैमा निकै गम्भीर विषय हो ।

सत्ता पक्षले प्रभावमा पारेको आशंका
राष्टिय जनमोर्चाले आफ्नो सांसदलाई सरकार जोगाउन सत्ता पक्षले प्रलोभनमा पारेको हुन सक्ने जनमोर्चाका कतिपय नेताको आशंका छ । तर, यसबारे अनुसन्धान भैरहेकाले अन्तिम निष्कर्षमा नपुगेको पनि उनीहरुको तर्क छ ।

पार्टीभित्रैको विवादबाट सिर्जित समस्या भएको आशंका
जनमोर्चाको माउ पार्टी नेकपा मसालले ओली सरकार र प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । जसमा केही नेताको असहमति थियो । यस्तो असहमति राख्नेमा जनमोर्चा गण्डकी प्रदेश संसदीय दलका नेता कृष्ण थापा, बागलुङका नेता अमर थापा र प्यूठानका कृष्णबहादुर खड्का हुनुहुन्थ्यो । यी नेताहरुको तर्क पार्टीको महाधिवेशनले एमालेलाई मित्र शक्ति र कांग्रेसलाई प्रतिक्रियावादी मानेकाले एमालेको विकल्प कांग्रेस हुन सक्दैन भन्ने थियो । निर्णय र नीति फेर्ने हो भने महाधिवेशन र विशेष राष्टिय भेलाले मात्रै सक्ने पनि उनीहरुको तर्क थियो ।

त्यसैले सांसद शाही बेपत्ता हुनुमा यो विवादले पनि काम गरेको र पार्टीभित्रैबाट भएको हुन सक्ने अनुमान छ । तर अरुलाई विकृत राजनीति गरे भन्ने जनमोर्चा संसदीय राजनीतिमा त्यस्तै खेलमा फसेको पुष्टि भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्