Main News

गण्डकी प्रदेशका तीन जना सांसदसहित चार जनामा कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७८ वैशाख १५ गते १३:१३
गण्डकी प्रदेशका तीन जना सांसदसहित चार जनामा कोरोना संक्रमण पुष्टि

१५ वैशाख २०७८ पोखरा । गण्डकी प्रदेशका तीन जना सांसदसहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशानालयका निर्देशक विनोदविन्दु शर्माका अनुसार हिजो स्वाब लिएर परीक्षण गरिएका एक सय ५३ जनामध्ये तीनजना सांसदलाई कोरोना संक्रमण देखिएको हो ।

उहाँका अनुसार एमाले सांसद राजिव पहारी र प्रभा कोइराला तथा कांग्रेस सांसद मन कुमारी गुरुङलाई संक्रमण देखिएको छ । पोजेटिभ देखिएका सांसद पहारीले हिजोको प्रदेशसभा बैठकमा सांसदको पिसिआर परीक्षणको माग गर्नु भएको थियो ।

एक जना मर्यादापालकलाई पनि कोरोना पोजेटिभ देखिएको छ । गण्डकी प्रदेश सभाको विशेष अधिवेशनबाट मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव टुंगो लगाउने तयारी भइरहेका बेला संक्रमणको खबर सार्वजनिक भएको हो ।

प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । पीसीआर परीक्षणविना प्रदेशसभाको बैठक बसाइएको भन्दै हिजो सत्तारुढ नेकपा एमालेका सांसदले बैठक अवरुद्ध गरेका थिए ।

अविश्वास प्रस्तावमा मतदानको तयारी पनि छ । प्रदेशसभा सचिवालयले संक्रमित व्यक्तिलाई बैठकमा बोल्न नपाउने तर मतदानमा भाग लिन पाउने व्यवस्था मिलाउने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *