Main News

नारायणी अस्पतालमा उपचारमा लापरवाही, संक्रमितका आफन्तको यस्तो गुनासो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख १४ गते २०:३७
नारायणी अस्पतालमा उपचारमा लापरवाही, संक्रमितका आफन्तको यस्तो गुनासो (भिडियो रिपोर्टसहित)

१४ वैशाख २०७८ वीरगञ्ज । वीरगञ्ज र आसपासका क्षेत्रमा पनि संक्रमण बढ्दै गएको छ । तर उपचारको मुख्य केन्द्र नारायणी अस्पतालमा भने संक्रमितले सहज रुपमा उपचार पाउन सकेका छैनन् । अस्पताल व्यवस्थापनप्रति पनि नागरिकको गुनासो छ ।

कोरोनाको पहिलो लहरमा गत वर्ष वीरगञ्ज संक्रमणको केन्द्र बनेको थियो । दोस्रो लहरमा पनि पर्सामा अवस्था उस्तै हुन थालेको छ । वीरगञ्जको नारायणी अस्पतालमा संक्रमित दिनप्रतिदिन बढ्दै गएका छन् । अस्पतालका कोभिड वार्ड संक्रमितले भरिएको छ । तर उपचारमा ढिलासुस्ती भएको भन्दै संक्रमितका आफन्त आक्रोशित भइरहेका छन् ।

गत वर्ष अस्पतालका तत्कालिन मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले अहोरात्र खटेर संक्रमित र आफन्तको मन जित्नु भएको थियो । अवस्था नाजुक हुँदा पनि नारायणी अस्पतालबारे यस्तो गुनासो आएको थिएन । तर अहिलेका मेडिकल सुपरीटेण्डेन्टले जिम्मेवारी पूरा नगरेको संक्रमितका आफन्तको आरोप छ । चिकित्सक र नर्सले पनि राम्रो व्यवहार नगरेको उनीहरुको गुनासो छ ।

तर नारायणी अस्पतालले भने संक्रमितका आफन्तको आरोप अस्वीकार गरेको छ । अस्पतालका अधिकारी उपचारमा कुनै पनि समस्या हुन नदिएको दाबी गर्छन् ।

कोरोना संक्रमण बढेसँगै अस्पतालका आइसीयु भरिएको छ । संक्रमितका आफन्तले बेड खोज्दाखोज्दै ज्यान गुमाउनुपर्ने अवस्था आएको छ । अस्पताल व्यवस्थापनले पर्याप्त तयारी नगरेकाले अहिलेको अवस्था आएको स्थानीय जनप्रतिनिधिको पनि बुझाई छ ।

कोरोना संक्रमितको उपचारका लागि स्रोत साधन र जनशक्तिको अभाव रहेको चिकित्सक बताउँछन् । पूर्वाधार र जनशक्ति व्यवस्थापनमा सरकारले नै ध्यान दिनुपर्ने उनीहरुको माग छ ।

पर्सामा सक्रिय संक्रमितको संख्या १ हजार पुग्न थालेको छ । यो दिनहुँ बढ्दो क्रममा छ । पर्सा र वरपरका जिल्लाको उपचार गर्ने नारायणी अस्पतालमा भने अहिले भद्रगोल देखिएको छ । जसको मारमा कोरोना संक्रमित परेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *