Main News

एमालेको अवरोधका कारण गण्डकी प्रदेशसभा बैठक भोलिसम्मका लागि स्थगित

हिमालय टिभी
२०७८ वैशाख १४ गते १७:०५
एमालेको अवरोधका कारण गण्डकी प्रदेशसभा बैठक भोलिसम्मका लागि स्थगित

१४ वैशाख २०७८ पोखरा । सत्तारुढ नेकपा एमालेका सांसदको अवरोधका कारण २० मिनेटका लागि भनेर स्थगित भएको गण्डकी प्रदेश सभाको बैठक भोलि मात्रै बस्ने भएको छ ।

पोखरामा आज बैठक शुरु हुना साथ नेकपा एमालेका सांसदले पीसीआर परीक्षणको माग राखेर अवरोध गरेका थिए । २० मिनेटका लागि स्थगित गरिएको बैठक सांसदको पीसीआर परीक्षणपछि भोलि दिउँसो एक बजे बस्ने गरी बोलाइएको छ ।

मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव पेश भएपछि निर्णयका लागि गण्डकी प्रदेशसभाको विशेष अधिवेशन बोलाइएको हो । पीसीआर रिपोर्ट नेगेटिभ आउने सांसदलाई मात्रै मुख्यमन्त्रीमाथिको अविश्वास प्रस्तावमा बोल्न दिइने भएको छ ।

आजै अविश्वासको प्रस्ताव मतदानमा लैजाने विपक्षी दलको चाहना सत्तारुढको अवरोधले बिथोलिएको छ । भोलि अविश्वास प्रस्ताव मतदानमा लैजाने तयारी छ । अविश्वास प्रस्तावमा बहुमत सांसदको समर्थन देखिएकाले एमालेले रोक्न प्रयास गरिरहेको विपक्षी दलको आरोप छ ।

आजको बैठक शुरु हुनासाथ एमाले सांसद राजिव पहारीले पीसीआर परीक्षण गरेर मात्र संसद चलाउन माग गर्नुभभएको थियो । उहाँले कोरोना महामारीका कारण कास्कीमा पनि निषेधाज्ञा जारी भइसकेको अवस्थामा सुरक्षाका मापदण्ड अपनाएर मात्र प्रदेश सभा चलाउनुपर्ने बताउनुभयो ।

सभामुख नेत्रनाथ अधिकारीले भने यसअघि कार्यव्यवस्था समितिबाट सहमतिमा कार्यसूची तय गरिएकाले अवरोध नगर्न आग्रह गर्नुभयो । तर, एमालेका सांसदले विरोध गरेपछि बैठक स्थगित गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *