सुदूरपश्चिमका नाकामा कडाई, पीसीआर रिपोर्टबिना प्रवेश निषेध ! (भिडियो रिपोर्टसहित)
१४ वैशाख २०७८ कैलाली । कैलालीसँग सीमा जोडिएको गौरीफन्टा नाकाबाट पीसीआर परीक्षणबिना भारतीय नागरिकलाई प्रवेशमा रोक लगाइएको छ । कोरोनाको बढी जोखिममा रहेको सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा सीमा नाकासँगै अन्य क्षेत्रमा पनि कडाइ गर्न थालिएको छ ।
गड्डाचौकी, गौरीफान्टा नाकामा अहिले हजारौ नागरिकहरु स्वदेश भित्रिरहेका छन् । भारतबाट आउने नागरिकले नाकाबाट आवतजावत गर्दा पीसीआर रिपोर्ट अनिवार्य देखाउनुपर्ने भएको छ ।
सिमानाकामा सुरक्षा ब्यवस्था कडा पारिएको छ । दुई जिल्लाका सुरक्षा अधिकारीको बैठकले विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र लगायतका सबै शैक्षिक संस्थाहरू वैशाख ३१ गतेसम्म बन्द गर्ने, विगतमा सञ्चालित आइसोलेसन, क्वारन्टिनलाई फेरी सक्रिय बनाउने, छोटो दुरीका सवारी साधनलाई कैलाली कञ्चनपुरमा जोर बिजोर प्रणालीमा सञ्चालन गर्ने , होटेल रेस्टुरेन्ट बिहान ८ बजेदेखि राती ८ बजेसम्म मात्रै सञ्चालन गर्ने दिने लगायतका २५ निर्णय भएको छ ।
बैठकले भारतबाट फर्किनेलाई गौरीफन्टा सीमा नाका र गड्डा चौकी नाकामा स्वास्थ्य परीक्षण गरी सम्बन्धित स्थानीय तह पठाउने निर्णय समेत गरेको छ । यी निर्णयहरु कार्यान्वन नभए लकडाउन गर्ने प्रशासनको तयारी छ ।
प्रशासनले स्वास्थ्य मापदण्ड अपनाउँदै आशिंक रुपमा गरेको निषेधाज्ञालाई निजि क्षेत्रले पनि स्वीकारेको छ । निजि क्षेत्र पनि पूर्ण लकडाउनको सामना गर्ने पक्षमा छैन । कैलाली उधोग बाणिज्य संघले सबै ब्यवसायीहरुलाई स्वास्थ्य मापदण्ड अपनाएर ब्यवसाय सञ्चालन गर्न आव्ह्वान गरेको छ ।
तत्काललाई कैलाली कञ्चनपुरका प्रशासनले आशिंक रुपमा मात्रै निशेधाज्ञा गर्ने निर्णय गरे पनि संक्रमण दर बढ्दै गए चाँडै पुर्ण रुपमा निशेधाज्ञा जारी हुने देखिएको छ । त्यसैले सबै सचेत हुनु आवश्यक छ ।
प्रतिक्रिया