Main News

कोभिड–१९ रोकथाममा केन्द्रित हुन सरकारलाई कांग्रेस र माओवादी केन्द्रको आग्रह

हिमालय टिभी
२०७८ वैशाख १३ गते १८:३५
कोभिड–१९ रोकथाममा केन्द्रित हुन सरकारलाई कांग्रेस र माओवादी केन्द्रको आग्रह

१३ वैशाख २०७८ काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले कोभिड–१९ को संक्रमण रोक्ने काममा केन्द्रीत हुन सरकारलाई आग्रह गरेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विज्ञप्ति निकालेर सरकारको गम्भीर ध्यानाकर्षण गर्नुभएको हो ।

कांग्रेस सभापति देउवाले संक्रमितहरुको उपचार गर्न स्वास्थ्य संरचनाले धान्नै नसक्ने स्थिति आएको भन्दै आवश्यक स्वास्थ्य संरचना, स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मीको मनोबल उच्च राख्ने व्यवस्था मिलाउन माग गर्नुभएको छ ।

देउवाले चाँडै खोपको व्यवस्था गर्न ठोस योजनासहित कूटनीतिक सक्रियता बढाउन पनि सरकारसँग माग गरेका छन् ।

यस्तै माओवादी अध्यक्ष प्रचण्डले कोरोना संक्रमण नियन्त्रणमा सरकारको भूमिकाप्रति असन्तुष्टि जनाउँदै जनताको स्वास्थ्यमा खेलवाड नगर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

स्थानीय निकायमा स्वास्थ्य सामग्रीको समुचित व्यवस्था मिलाउन प्रचण्डको आग्रह छ । स्वास्थ्य सेवा प्रभावकारी बनाई जनतालाई राहत दिन केन्द्रित हुनुको सट्टा वर्तमान सरकार शिलान्यास र उद्घाटनमा केन्द्रित भएको भन्दै प्रचण्डले असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

महामारीको सबैभन्दा बढी मार श्रमजीवि जनसमुदायलाई पर्ने भन्दै प्रचण्डले खाद्यान्न तथा अन्य विशेष सहयोगको व्यवस्था मिलाउन सरकार र निजी क्षेत्रलाई अपील गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *