Main News

न्युनतम सुविधा माग गर्दै कोशी कोभिड उपचार केन्द्रका चिकित्सक र नर्स आन्दोलनमा

हिमालय टिभी
२०७८ वैशाख १३ गते १७:३९
न्युनतम सुविधा माग गर्दै कोशी कोभिड उपचार केन्द्रका चिकित्सक र नर्स आन्दोलनमा

१३ वैशाख २०७८ विराटनगर । विराटनगरस्थित कोशी कोभिड १९ उपचार केन्द्रमा कार्यरत चिकित्सक र नर्स सरकारले तोकेको न्यूनतम सुविधाको माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।

केन्द्रमा भर्ना भएका गम्भिर अवस्थाका संक्रमितको उपचार गर्न छाडेर चिकित्सक र नर्स आन्दोलनमा होमिएका हुन् । उनीहरु काम छाडेर आन्दोलनमा गएका कारण संक्रमितको उपचारमा समस्या भएको छ । काम छाडेर आन्दोलनमा गएको चिकित्सक र नर्सहरुले सरकारले तोकेको न्यूनतम सुविधा पाउनुपर्ने माग राखेका छन् ।

कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर चुमनलाल दासले आन्दोलित चिकित्सक र नर्सलाई काममा फर्काउन पहल भइरहेको बताउनुभयो ।

‘अस्पातलमा कार्यरत चिकित्सक र नर्स आन्दोलनमा गएपछि उपचारमा समस्या हुन्छ’ मेसु दासले भन्नुभयो ‘उहाँहरुको जायज मागलाई जतिसक्दो चाँडौ सम्बोधन गरी उनीहरुलाई काममा फर्काउने काम भइरहेको छ ।’मेसु दासका अनुसार उपचार केन्द्रमा कार्यरत ५ जना नर्स, ३ जना परामेडिक्स र पाँचजना डाक्टर काम छाडेर आन्दोलित भएका हुन् ।

सामाजिक विकास मन्त्रालयले पठाएकी एकजना नर्स कार्यरक्त छन् । १८० बेडको उपचार केन्द्रमा सोमबारसम्म ३२ जना कोरोना सङ्क्रमित उपचाररत छन् ।

सामाजिक विकास मन्त्रालयले गत भदौमा नियुक्त पाएका डाक्टर नर्स र पारामेडिक्सलाई कात्तिकसम्मको मात्रै तलब भत्ता र सुविधा दिएको छ । कोरोना सङ्क्रमण घटेपछि एक महिना विदा बसेका उनीहरुले पुनः नियुक्ति पाएपछि काममा फर्किएका थिए । तर न्यूनतम सुविधा नपाएपछि आन्दोलनमा उत्रिएको बताए ।

कोभिडको पहिलो लहरमा सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीका लागि प्रदेश १ सामाजिक विकास मन्त्रालयले यसअघि होटलमा क्वारन्टिन बनाएको थियो ।तर कोरोनाको दोश्रो लहर शुरु भएपनि उनीहरुलाई थप सेवा सुविधानको व्यवस्था प्रदेश सरकारले गरेको छैन ।

केन्द्रमा कार्यरत घर नभएकाहरुलाई उपचार केन्द्र नजिकै रहेको पुरानो घर छुट्याइएको छ । तर पुरानो घर व्यवस्थित नभएको स्वास्थ्यकर्मीले बस्ना मानेका छैनन् ।

स्वास्थ्यकर्मीलाई खाना पनि गुणस्तरयूक्त नदिएको उनीहरुको गुनासो छ । कोरोना महामारीको दोस्रो लहर शुरू भएसँगै केन्द्रमा अहिले ३२ जना गम्भिर अवस्थाका संक्रमित उपचाररत छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *