कोरोना बढी प्रभावित जिल्लामा स्वास्थ्य संकटकाल घोषणा गर्न चिकित्सक संघको माग

१३ वैशाख २०७८ काठमाडौं । नेपाल चिकित्सक संघले कोरोना महामारीबाट बढी प्रभावित जिल्लामा स्वास्थ्य संकटकाल घोषणा गरी लकडाउन गर्न आग्रह गरेको छ ।
संघले विज्ञप्ति निकालेर कोरोना महामारीको दोस्रो लहरमा संक्रमितको संख्या र मृत्यु बढ्दै गएकाले उपचार सहज बनाउन बढी संक्रमित भेटिएका जिल्लामा स्वास्थ्य संकटकाल घोषणा गर्न माग गरेको हो ।
संघका अध्यक्ष डाक्टर लोचन कार्की र महासचिव डाक्टर बद्री रिजालले विज्ञप्ति निकालेर सरकारी अस्पताल, मेडिकल कलेज तथा निजी अस्पतालसँग समन्वय गरी नियमित स्वास्थ्य परीक्षण र अति आवश्यक शल्यक्रियाबाहेकका सेवा बन्द गर्न र कोभिड–१९ को उपचारमा अस्पताल प्रयोग गर्न आग्रह गर्नुभएको छ ।
अस्पतालहरुमा अक्सिजन बेड र एचडीयू थप्न पनि संघले आग्रह गरेको छ । त्यस्तै निश्चित अस्पताललाई कोभिड अस्पताल घोषणा गरी संक्रमितको छुट्टै उपचारको व्यवस्था गर्न पनि माग गरिएको छ ।
कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणमा काम गरेका चिकित्सक तथा स्वास्थ्यकर्मीको स्वास्थ्यको जिम्मा सरकारले लिने र घोषण गरेको जोखिम भत्ता र बिमा प्रभावकारी रुपमा लागू गर्न पनि संघले माग गरेको छ ।
संघले सुरक्षाका उपाय अपनाएर आफू सुरक्षित रही आ–आफ्नो कार्यक्षेत्रमा जिम्मेवारीका साथ काम गर्न चिकित्सकलाई आग्रह गरेको छ ।
त्यस्तै कोभिड १९ को नयाँ भेरियन्टकाबारेमा आम नागरिकलाई सुसूचित गराउन पनि चिकित्सक र स्वास्थ्यकर्मीलाई संघले अपील गरेको छ ।
प्रतिक्रिया