Main News

आज गण्डकीका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

हिमालय टिभी
२०७८ वैशाख १३ गते ७:३५
आज गण्डकीका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

१३ वैशाख २०७८ पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध तीन दलले दर्ता गराएको अविश्वासको प्रस्तावले आज प्रदेशसभामा प्रवेश पाउने भएको छ ।

मुख्यमन्त्री गुरुङको सिफारिसमा अधिवेशन अन्त्य भएपछि कांग्रेस र माओवादीसहितका दलले विशेष अधिवेशन आह्वानको माग गरेका थिए । तीन दलको माग अनुसार प्रदेश प्रमुख अमिक शेरचनले आज दिउँसो १ बजेका लागि विशेष अधिवेशनको आह्वान गर्नुभएको हो ।

आजको बैठकमा मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव टेबल गरिनेछ । अविश्वासको प्रस्ताव ल्याएका दलहरुको प्रदेशसभामा आवश्यक ३१ संख्या मात्र छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का २८ प्रदेशसभा सदस्यले मुख्यमन्त्री गुरुङविरुद्ध २ वैशाखमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । जसमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गरिएको छ ।

राष्ट्रिय जनमोर्चाले समेत समर्थन गरेको अविश्वासको प्रस्ताव आज सदनमा टेबल हुँदैछ । तर राजमोका सांसदहरु अझै पनि प्रस्तावको पक्षमा खुलीनसकेकाले फ्लोर क्रसको संकेत देखिएको नेताहरुले बताएका छन् ।

कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ गरी २८ प्रदेशसभा सदस्यले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन् । जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापा अझै पनि एमालेसँग मिल्नुपर्ने पक्षमा देखिनुभएको छ ।

तर थापासहित जनमोर्चाका तीनै जना सदस्यले पार्टी निर्णय स्विकार गर्ने बताउँदै आउनु भएको छ । विपक्षी दलहरुले आजै अविश्वासको प्रस्तावमाथि मतदान गराउनुपर्ने बताउँदै आएका छन् भने सत्ता पक्षले अझै एक दुई दिन लम्ब्याउन चाहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *