Main News

भरतपुर र देवघाट जोड्ने पुल फेरि भत्कियो, १ जनाको मृत्यु, दुई बेपत्ता(भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख १२ गते २१:०८
भरतपुर र देवघाट जोड्ने पुल फेरि भत्कियो, १ जनाको मृत्यु, दुई बेपत्ता(भिडियो रिपोर्टसहित)

१२ वैशाख २०७८ चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १ ठिमुरा र तनहुँको देवघाट जोड्ने त्रिशुली नदीमाथि बन्दै गरेको मोटर गुड्ने पुल पुनः भत्किएको छ । गत चैत २४ गते भत्किएको पुलबाट पाठ नसिक्दा पुन भत्किएको स्थानीय बासिन्दा र उपभोक्ता समितिको निष्कर्ष छ ।

तनहुँको देवघाट र चितवनको ठिमुरा जोड्न त्रिशुली नदीमाथि बनिरहेको पुल आइतबार दोस्रो पटक भत्किएको छ । यही पुल गत चैत २४ गते भत्किएको थियो । त्यत्तिबेला सडक डिभिजन कार्यालय भरतपुरले भूकम्पको परकम्पका कारण भत्किएको जवाफ दिएर पन्छिएको थियो । अहिले फेरि पुल किन भत्किँयो भनेर प्रश्न गरिरहेका छन ।

गत चैतमा पुलको ८० मिटर भाग भत्किएको थियो । २२० मिटर लामो र ८।५ मिटर चौडाइको पुलको पिलरको काम सकिएको थियो । इलाइट, एड्भेन्चर र इन्द्रेणी जेभी गरी तीन कम्पनी मिलेर बनाउँदै गरेको पुल ढलान गरेको २१ दिनमा भत्किएको हो ।

साधारणतया २८ दिनमा ढलानका सपोर्ट निकाल्ने गरिन्छ । प्रिस्टेसिङमा रहेको ४० मिटरको पुल भत्किदा अर्को बनिसकेको ४० मिटर भागसमेत भत्कियो । पुलको एक खण्डमा ट्रसको काम भैरहेको थियो । पुलको चारवटा स्पानमध्ये मुख्य भागमा ८० मिटर लामो स्टिलको ट्रस्ट संरचना बन्दै थियो ।

ट्रसलाई लिफ्ट गर्दा ढलान गरिएको पुलमा धक्का दिँदा भत्किएको हुनसक्ने अनुमान छ । त्यतिबेलै पुल के कारणले भत्कियो भन्ने अनुसन्धान गर्न समिति बन्यो तर अहिलेसम्म प्रतिवेदन बुझाएन ।

उपभोक्ता समिति र स्थानीयबासिन्दाले छानबिन समितिको प्रतिबेदन नआउँदासम्म काम अघि नबढाउन सडक डिभिजन कार्यालयलाई दबाब नै दिए । जिल्ला प्रशासन कार्यालय पनि गुहारे । तर काम रोकिएन, आइतबार त निर्माणका क्रममा मानवीय क्षति नै भयो । यसलाई उपभोक्ता समितले सडक विभागको चरम लापरबाही भनेको छ ।

शुरुमा १६ करोडमा ठेक्का सम्झौता भएको पुलको डिजाइन फेरेर २१ करोड ६८ लाख पुर्‍याइएको छ । डिजाइन संशोधनमा १८ , भूकम्पमा ६ र नाकाबन्दीमा ३ महिना काम रोकियो । ६ वर्षअघि शिलान्यास भएको पुल यिनै कारण देखाएर म्याद दुई पटकसम्म थपियो ।

बेलैमा काम नसकेको, पटक–पटक डिजाइन फेरेको र काम भएर लागत बढेको विषयमा महालेखाले सडक डिभिजनसँग जवाफ मागेको थियो । पुल निर्माण सक्ने अन्तिम मिति अब २०७८ सालको असार मसान्तसम्म छ ।

भत्किएपछि तोकिएको समयमा पुल नबन्ने पक्का छ । तर अहिले पुल बेलैमा बन्छ कि बन्दैन भन्दा पनि दुई दुई पटक पुल कसरी भत्कियो भन्ने हो । किनकी दुई दुई पटकको दुर्घटना भवितव्य हुन सक्दैन । यसमा ठेकेदार र सरकारी प्राविधिकको लापरबाही तथा बदनियत हुन सक्छ । त्यसैले गम्भिरतापूर्वक छानबिन होस् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *