Main News

२०७२ सालको भूकम्प : अझै ठडिएन सोनिसको घर (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख १२ गते २०:५४
२०७२ सालको भूकम्प : अझै ठडिएन सोनिसको घर (भिडियो रिपोर्टसहित)

१२ वैशाख २०७८ भक्तपुर । २०७२ सालमा गएको भूकम्पबाट ८ हजार ७ सय ९० जनाको मृत्यु भयो । २२ हजार तीन सय जनाभन्दा धेरै घाइते भए । कच्ची र पक्की गरी १० लाख भन्दा धेरै घरको क्षति भयो। कतिपय भूकम्पले भत्काएको घरमा पुरिए । भूकम्पले पुरिएका भक्तपुरका सोनिस अवालको पनि उद्धार गरियो । सोनिस अहिले विद्यालय पढ्ने भएका छन् । तर सोनिसको भत्किएको घर अझै ठड्डिएको छैन ।

भक्तपुरका सोनिस अवाल ७२ सालको भूकम्प जाँदा ४ महिनाका थिए । उनी बसेको भक्तपुरको मूलढोकाको घर भूकम्पले भत्कियो । उनी घरमा पुरिए । २२ घन्टापछि उनलाई सेनाले जीवितै उद्धार गर्‍यो । अहिले उनी ६ वर्ष पूरा भएर सात वर्ष लागे । तर उनको परिवारले आजसम्म पनि भूकम्पबाट भत्केको घर बनाउन सकेको छैन ।

भूकम्पपछिको झन्डै वर्ष दिन अस्थायी टहरामा बिताएका चार जनाको परिवार अहिले भक्तपुर नगरपालिका ब्यासीमा भाडाको एउटा कोठामा बस्दै आएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार भूकम्पबाट बास गुमाएका ८ लाख ११ हजार ७ सय ५४ जनाले घर बनाउनका लागि सरकारबाट राहत पाएका छन् । राहत पाएका मध्ये ९३ प्रतिशत अर्थत ७ लाख ५३ हजार १ सय ४ जनाले घर बनाउन थालेका छन् । तर सोनिस पुरिएको घर बनाउन अवाल परिवारले अहिलेसम्म राहत पाएको छैन ।

कारण त्यो घर चार दाजुभाइको सगोलको घर थियो । त्यसैले लालपूर्जा भएन । ३ पैसा क्षेत्रफलको यो जग्गा अहिले दाजुभाइले सोनिसका बा आमालाई दिने सहमति गरेका छन् । त्यसैले उनीहरूले भग्नाशेष हटाएर जग्गा सम्याएका छन् । तर साथमा पैसा नहुँदा घर बनाउने काम शुरु भएको छैन ।

सोनिसको परिवारलाई बासको व्यवस्था गर्ने आश्वासन प्रधानमन्त्री केपी शर्मा ओलीले उबेलामा नै दिनुभएको थियो । तर त्यो आश्वासन पूरा होला कि भन्ने आशा अवाल परिवारसँग छ ।

भूकम्पको घर भत्किएर पुरिएका सोनिसलाई उद्धार गर्ने सेनाले नै पढाइका लागि वार्षिक ५० हजार रुपैयाँ सहयोग गर्दै आएको छ । नेपाली सेनाले उनलाई स्नातक तहसम्म अध्ययनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । यस्तै, सोनिसकी दिदी सोनियालाई भने अमेरिकामा बस्ने एक नेपालीले पढाइका लागि खर्च पठाइरहेका छन् । यो परिवारको जीवन जसोतसो चलिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *