Main News

क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माण गर्दा मौलिकतामा ध्यान दिन राष्ट्रपतिको आग्रह

हिमालय टिभी
२०७८ वैशाख १२ गते ९:४४
क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माण गर्दा मौलिकतामा ध्यान दिन राष्ट्रपतिको आग्रह

१२ वैशाख २०७८ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ को भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण गर्दा मौलिक वास्तुशिल्प प्रतिबिम्बित हुनुपर्ने बताउनुभएको छ ।

गोरखा भूकम्पको छैटौं स्मृतिका अवसरमा सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले पुनर्निर्माणमा मौलिक वास्तुशिल्प प्रतिविम्बित गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराउनुभएको हो ।

नेपालको भौगोलिक अवस्थिति र बनावटका कारण भूकम्प, बाढी पहिरो र डुबान जस्ता प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको भन्दै राष्ट्रपतिले पर्यावरणमैत्री एवम् विपदको सामना गर्न सक्ने भौतिक संरचना निर्माणमा जोड दिनुभएको हो ।

राष्ट्रपतिबाट जारी सन्देशमा भविष्यमा भूकम्पको जोखिमलाई न्यूनीकरण गर्न निजी आवास, सार्वजनिक तथा सरकारी संरचनाहरुको अध्ययन गरी कमजोर संरचनालाई प्रवलीकरण गर्न र दिगो नवनिर्माण कार्यका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ ।

भूकम्प स्मृति दिवसबाट सुरक्षित जीवनका लागि आपसमा मिलेर काम गर्ने प्रेरणा सबैलाई मिलोस् भन्ने कामना पनि राष्ट्रपतिले गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *