एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै
१२ वैशाख २०७८ काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक आज बस्दैछ ।
प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले एमाले महाधिवेशन आयोजक कमिटीको आकस्कीक बैठक बोलाउनुभएको हो । बैठक अहिले ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ ।
वरिष्ठ नेता माधवकुमार नेपाल समूहका केन्द्र तथा प्रदेशका ३२ सांसदलाई मागिएको स्पष्टीकरण सम्बन्धमा छलफल गर्न अध्यक्ष ओलीले आकस्मिक बैठक बोलाउनुभएको हो ।
बैठकमा ती सांसदले बुझाएका स्पष्टीकरणको विश्लेषण गरी कारबाहीबारे निर्णय हुने बताइएको छ । यसअघि शुक्रबार एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बसेको थियो।
शुक्रबारको बैठकमा नेपाल पक्षकालाई जिम्मेवारीबाट हटाएर अध्यक्ष ओलीले पार्टीको नयाँ स्थायी कमिटी गठन गर्नुभएको थियो ।
यस्तै कर्णाली प्रदेशमा पार्टीको ह्विपविपरीत माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने चार जना प्रदेश सांसदलाई एमालेको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको थियो ।
प्रतिक्रिया