Main News

भूकम्पले ढालेको धरहरा ६ वर्षपछि ठडियो, आम नागरिकले तत्काल प्रवेश नपाउने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख ११ गते २०:५३
भूकम्पले ढालेको धरहरा ६ वर्षपछि ठडियो, आम नागरिकले तत्काल प्रवेश नपाउने (भिडियो रिपोर्टसहित)

११ वैशाख २०७८ काठमाडौं । गोरखाको बारपाक केन्द्रविन्दु भएको आएको भूकम्पबाट ढलेको धरहरा ६ वर्षपछि ठडिएको छ । भूकम्प जानुअघि ९ तला मात्र रहेको धरहरा त्योभन्दा अग्लो बनाइएको छ । ३ अर्ब ४८ करोडको लागतमा बनेको धरहरा आज उद्घान भए पनि आम नागरिकका लागि भने खुला गरिएको छैन ।

धरहरा ढलेको ६ वर्ष पूरा भएर सात वर्ष लाग्नै लाग्न मध्य काठमाडौंमा फेरि ठडिएको छ । ९ तला रहेको धरहरा अहिले बाहिरबाट हेर्दा ११ तलाको देखिन्छ । तर भित्र यो २२ तलाको बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र दिवसको दिन पारेर धरहराको प्रवेशद्वारमा राखिएको शिलालेखको अनावरण गर्नुभयो ।
त्यसपछि लिफ्ट चढेर उहाँ २० औं तलामा पुग्नुभयो । र त्यहाँबाट पुष्पवृष्टि गरेर उहाँले धरहराको उद्घाटन गर्नुभयो ।

भीमसेन थापाले नै बनाएको धरहराकै स्वरुपमै नयाँ धरहरा बनेको छ । तर भीमसेना थापाले इँटा र माटोको प्रयोग गरेको भए पनि अहिलेको यो धरहरामा आधुनिक निर्माण सामग्री प्रयोग गरिएको छ । धरहरा चढ्न यसअघि भर्‍याङ मात्र थियो । तर अहिले भर्‍याङ्सँगै २ वटा लिफ्टको प्रयोगसमेत गरिएको छ । जसमा एकपटकमा १० जनाले यात्रा गर्न सक्ने छन् ।

यस्तै धरहरा क्षेत्रमा तीनतल्ले भूमिगत पार्किङसहित नयाँ धरहरा २५ तलाको हुने छ । पार्किङ्गमा ४ सय गाडी र ७ सय मोटरसाइकलसम्म अट्ने छन । अहिले बनाइएको धरहरा तलदेखि गजुरसहित धरहराको उचाई ९२ दशममलव २५ मिटर अग्लो छ ।

धरहराबाट वरिपरिको दृश्यावलोकनका लागि २० औं तल्लाबाहिर साढे दुइ मिटर चौडाइको बार्दली राखिएको छ । बार्दलिमा पुगेर पुष्पवृष्टि गरेका प्रधानमन्त्री ओलीका अनुसार यो बार्दलीमा फ्रान्सको इपिल टावरमा जस्तै हावा आउँछ ।

नवनिर्मित धरहराको २२ औँ तल्लामा शिव लिंग राखिएको छ । जुन शिव लिंग पुरानो धरहरामा पनि थियो ।

अहिले बनेको धरहरा क्षेत्र करिब ४२ रोपनी क्षेत्रफलमा फैलिएको छ । पुरानो धरहरा क्षेत्रमा विश्रामस्थल र बगैँचा बनाइने छ । भूकम्पले भत्केको पुरानो धरहराको भग्नावशेषलाई सिसाले छोपेर संरक्षण गरिएको छ । धरहरा बनाउन अहिलेसम्म ३ अर्ब ४८ करोड रुपैयाँ खर्च भइसकेको छ ।

धरहराको इतिहास
विक्रम सम्बत १८८२ भीमसेन थापाले सुन्धारामा ६१ दशमलब ८८ मिटर अग्लो ११ तले धरहरा बनाएका थिए । जुन धरहरा १८९० सालको भूकम्पमा भत्किएपछि धरहराको जीर्णोद्वार भएको थियो । १९१३ सालमा चट्याङ परी भत्केपछि १९२३ सालमा फेरी जीर्णोद्वार गरिएको थियो ।

त्यसपछि १९९० साल माघ २ को महाभूकम्पमा धरहरा भत्किएपछि तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेर राणाले पुनर्निर्माण गराएका थिए । पुननिर्माण गर्दा धरहराको ११ तल्लाबाट ९ तल्लामा सिमित गरिएको थियो ।यसैगरी २०७२ सालमा फेरी भूकम्प जाँदा ९ तले धरहरा पुर्ण रुपमा नै क्षति भयो ।

र २०७५ साल पुस ५ गते प्रधानमन्त्री ओलीबाट नै यो धरहराको शिलन्याश गरियो । शिलन्यास गरेको २८ महिनापछि पुनर्निर्मित धरहराको आज प्रधानमन्त्रीओलीबाटै उद्घाटन भएको हो । धरहरा डिएको खुसीमा प्रधानमन्त्रीले दिपावली गर्न निर्देशन दिनुभयो ।

प्रधानमन्त्रीको यो भनाइबाट सरकारले धरहरा ठडिनुलाई ठूलो उपलब्धी मानेको छ । त्यसैले कोरोना कहरमा पनि आफैंले दिएको २५ जना भन्दा बढी उपस्थित नहुने निर्देशन उल्लंघन गर्दै प्रधानमन्त्री ओलीले यसको भव्य समारोहका बिच उद्घाटन गर्नुभएको छ ।

अरु धेरै कार्यक्रम भर्चुअल माध्यमबाट शिलान्यास र उद्घाटन भए पनि डढेलो झैं कोरोना फैलिएको बेलामा धरहराको उद्घाटनमा तामझामसहितको कार्यक्रम राखेकोमा सरकारको आलोचना पनि भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *