Main News

बाँकेमा अनियन्त्रित बन्दै कोरोना, उपचारमा बजेट र जनशक्तिको चरम अभाव (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख ११ गते १९:१३
बाँकेमा अनियन्त्रित बन्दै कोरोना, उपचारमा बजेट र जनशक्तिको चरम अभाव (भिडियो रिपोर्टसहित)

११ वैशाख २०७८ बाँके । बाँकेमा हरेक दिन झण्डै पाँचसयको हाराहारीमा नयाँ संक्रमित भेटिन थालेका छन् । मृत्यु पनि बढेको छ । संक्रमण तिब्र रुपमा फैलिएर स्थिति नियन्त्रण बाहिर जान थाले पनि उपचारको व्यवस्था मिलाउन बजेट र जनशक्तिको चरम अभाव छ । भेरी अस्पतालमा बेड थप्ने त भनिएको छ तर जनशक्ति भने छैन ।

बाँकेमा कोरोना संक्रमण अनियन्त्रित भइरहेको छ । दैनिक पाँचसयको हाराहारीमा संक्रमित भेटिन थालेका छन् । मृत्युदर पनि ह्वात्तै बढेको छ । अस्पतालमा बेड भरिएको एक साता हुन थालेको छ । उपचारमा संलग्न चिकित्सकले नेपालगन्जको अवस्था भयावह हुँदै गएको भन्दै नियन्त्रणका लागि नेपाल सरकारले तत्कालै थप जनशक्तिसहितको विशेष टोली खटाउनुपर्ने माग गर्दै आएका छन् ।

तर कोरोना संकट व्यवस्थापन केन्द्र डीसीसीएमसीले बजेट र जनशक्ति व्यवस्था नै नगरी भेरी अस्पतालमा ५८ बेड थप्न निर्देशन दिएको छ । अस्पतालले थप बजेट र ४० जना स्टाफ नर्ससहित १ सय जना जनशक्तिको माग गर्न थालेको दुई हप्ता भइसकेको छ । तर सुनुवाइ भएको छैन । जनशक्ति नहुँदा ४–५ जना नर्सले १ सय जनासम्म बिरामीको हेरचाह गर्नुपर्ने अवस्था छ । थप जनशक्तिबिना बेड थपे पनि संक्रमितको उपचार सहज नहुने स्वास्थ्यकर्मीको तर्क छ ।

जनशक्ति र बजेट अभाव भएका कारण संक्रमितको उपचारमा कठिनाइ भइरहेको भन्दै डीसीसीएमसीको बैठकले प्रदेश सरकारसँग ५ करोड र संघीय सरकारसँग १० करोड रुपैयाँ माग गरेको छ ।

बाँकेका प्रदेश सभा सदस्य एवं लुम्बिनी प्रदेश सरकारका कृषि मन्त्री विजय यादवले भने बजेट र जनशक्तिको अभाव नहुने दाबी गर्नु भएको छ । तर त्यसको व्यवस्था कहिलेसम्म हुन्छ भन्ने प्रश्नको प्रष्ट जवाफ मन्त्री यादवसँग पनि छैन ।

अहिले बाँकेमा स्वास्थ्य अवस्था नाजुक भएका बिरामीले पनि कहिले बेड खाली होला भनेर अस्पताल बाहिर कुर्नुपर्ने अवस्था छ । र सिकिस्त बिरामीको संख्या दिनहुँ बढिरहेको छ । यस्तो अवस्थामा बजेट र जनशक्ति नभएर उपचार प्रभावित हुनु तीनै तहका सरकारका लागि लाजमर्दो हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *