Main News

धरहरा बनेकोमा साँझ दिपावली गर्न प्रधानमन्त्री ओलीको आव्हान (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख ११ गते १३:३९
धरहरा बनेकोमा साँझ दिपावली गर्न प्रधानमन्त्री ओलीको आव्हान (भिडियो रिपोर्टसहित)

११ वैशाख २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र कमजोर पार्न खोज्ने शक्तिहरु कमजोर हुँदै गएको बताउनुभएको छ ।

आज पुनर्निर्मित ऐतिहासिक धरहरा उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई कमजोर बनाउन प्रयास गर्ने सबै शक्तिहरु कमजोर हुँदै गएको बताउनुभएको हो । नयाँ शासकीय व्यवस्थासँगै लोकतन्त्र सुदृढ हुँदै गएको र लोकतन्त्रलाई कमजोर पार्न खोज्नेहरु दक्षिणपन्थी प्रतिक्रियावादी शक्तिहहरु कमजोर हुँदै बताउनुभयो ।

उहाँले भन्नुभयो “लोकतन्त्र सुदृढ हुँदै गएको छ । लोकतन्त्रलाई कमजोर पार्न खोज्नेहरु दक्षिणपन्थी प्रतिक्रियावादी शक्तिहहरु कमजोर हुँदै गएका छन् । र विभिन्न प्रकारले देश, जनता, विकास, समृद्धि र जनताको सुखसँग मतलब नभएका स्वार्थमा तल्लिन तत्वहरु छटपटाइरहेका छन् ।”

धरहरा निर्माण हुनु सबै नेपालीका लागि खुसीको क्षण भएको भन्दै उहाँले आआफ्ना घरमा साँझ दिपावली गर्न सबैलाई आव्हान गर्नुभयो । पुनर्निर्माणका काममा कोभिडले केही असर गरेपनि आवश्यक सतर्कता अपनाउँदै सरकारले विकास निर्माणका कामलाई निरन्तरता दिइएको र निरन्तर प्रयासले नै धरहराको पुनर्निर्माण सम्पन्न भएको तर्क उहाँले गर्नुभयो ।

उहाँले महाभुकम्पको समयमा धरहरा भत्किएर जीवन गुमाएका सदस्यको परिवारलाई धरहराको संरचनाभित्र काम गर्न पाउनेगरी प्रतिपरिवार एक जनाका दरले रोजगारी उपलब्ध गराउन पनि आग्रह गर्नुभयो ।

वर्तमान सरकारले समृद्ध नेपाल सुखी नेपाली बनाउने राष्ट्रिय अभियान अन्तर्गत कोही पनि भोकै नरहने गरी नेपाललाई विकसित राष्ट्र बनाउने प्रतिबद्धता जनाउनुभयो । उहाँले धरहरा निर्माणले नेपालीले चाहे सबै गर्न सक्छन् भन्ने सन्देश पनि दिएको उल्लेख गर्दै अब राष्ट्रलाई सम्पन्न र दाता राष्ट्रको रुपमा उभ्याउनुपर्ने आवश्यकता औल्याउनुभयो ।

उहाँले भन्नुभयो “देश हामीले बनाउने हो र हामी बनाउन सक्छौ । नेपाली जाति भिख माग्ने होइन दाता जाति हो र यसलाई दाताको हैसियतमा उठाउनुपर्छ । हामीले हाम्रो राष्ट्रलाई सम्पन्न र दाता राष्ट्रको रुपमा उभ्याउनुपर्छ । ”

आफुलाई आवश्यक पर्ने वस्तुहरुको उत्पादन आफैले गर्नुपर्ने र आयातमुखी नभई उत्पादनमुखी बन्नुपर्ने उल्लेख गर्दै उहाँले त्यही बाटोमा सरकार अघि बढेको बताउनुभयो । सरकारले २०७८ सालभित्र काठमाडौको सडकबाट मगन्ते, भिखारी र सडक बालबालिका मुक्तको अवस्थामा पुराउने दोहोराउनुभयो । उहाँले ३९६ वटा अस्पताल निर्माण शुरु गरिएको, मेलम्चीको पानी काठमाडौं आएको, तराईमा सिंचाईका काम लगायत विकास निर्माणका कामहरु भईरहेको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सशील ज्ञवालीले धरहरालाई व्यापारिक कम्प्लेक्सको रुपमा बनाउन लागियो भन्ने भनाईमा सत्यता नभएको भन्दै सबैको साझा विश्रामस्थलको रुपमा धरहरालाई कायम राखिने आश्वासन दिनुभयो । उहाँले भुकम्पको ६ बर्ष पुग्दै गर्दा पुनर्निर्माणका कामहरु प्रभावकारी ढंगले भएको बताउनुभयो । उहाँ ९३ प्रतिशत व्यक्तिगत घरहरुको निर्माण कार्य सकिएको पनि जानकारी दिनुभयो ।

प्रतिक्रिया

One thought on “धरहरा बनेकोमा साँझ दिपावली गर्न प्रधानमन्त्री ओलीको आव्हान (भिडियो रिपोर्टसहित)

  1. janta lai kar bokayera fokatya kp tower banako xa… huna ta gawar lai k tha infrastructure of development vaneko… manxe marera jail jane hatyara lai pm mandina pareko xa

Leave a Reply to pranish Cancel reply

Your email address will not be published. Required fields are marked *