Main News

बेलहिया नाका हुँदै भारतमा किनमेल: घर फर्किँदा कोरोना संक्रमण पनि भित्र्याइँदै (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख ११ गते १२:५३
बेलहिया नाका हुँदै भारतमा किनमेल: घर फर्किँदा कोरोना संक्रमण पनि भित्र्याइँदै (भिडियो रिपोर्टसहित)

११ वैशाख २०७८ रुपन्देही । भारतमा तिव्र गतिमा कोरोना संक्रमण भइरहेको छ । तर पनि रुपन्देहीको बेलहिया नाकाबाट दैनिक सयौँ नेपाली किनमेलका लागि भारत जाने गरेका छन् । उनीहरुले घर फर्किँदा कोरोना संक्रमण पनि सँगै ल्याउने खतरा छ ।

भारतमा कोरोना भाइरस डढेलोजस्तै गरी फैलिएको छ । विभिन्न राज्यमा लकडाउन गरिएको छ । जसले गर्दा बेरोजगार भएका हजारौं नेपाली रुपन्देहीको बेलहिया नाका हुँदै स्वदेश प्रवेश गरिरहेका छन् । नाकामा एउटा हेल्थ डेक्स सञ्चालनमा छ । जहाँ ज्वरो नाप्ने काम मात्र हुन्छ । शंकास्पद विरामी देखिएमा मात्र उनीहरुलाई ऐन्टिजेन परिक्षण गरिन्छ ।

तर यही भिडमा भारतमा किनमेल गरेर फर्कनेको संख्या पनि उल्लेख्य छ । किनमेल गरेर नेपाल फर्किएकाको भने कुनै परीक्षण हुँदैन । उनीहरु सहज रुपमा आवातजावत गरिरहेका छन् । यसले संक्रमण फैलाउने डर पैदा भएको छ ।

नेपालमा भन्दा भारतमा सस्तो दरमा पाइने भएकाले खाध्यान्न, लत्ता कपडा तथा घरायसी सामान किन्न नेपाली कोरोनाको जोखिम मोलेरै सीमापारि जाने गरेका छन् । सुनौंलीमा किनमेलका लागि दैनिक सयौं पुग्ने गरे पनि प्रशासनले रोक्न सकेको छैन ।

सस्तो मूल्यमा सामान पाइने लोभमा किनमेलका लागि भारत नजान स्वास्थ्यकर्मीले आग्रह पनि गरेका छन । तर पनि भारत जानेको संख्या घटेको छैन । यसरी भारतबाट आउनेको परीक्षणमा कडाइ गर्नुपर्ने स्थानीय बासिन्दाको माग छ ।

बेलहिया नाका हुँदै नेपाल प्रवेश गर्नेको संख्या उल्लेख्य भए पनि किनमेलका लागि आवतजावत गर्नेको यकिन तथ्याङ्क छैन । रोजगारी, पढ्न तथा तिर्थयात्राका लागि गएर फर्किएका नेपालीको मात्र तथ्याङ्क राख्ने गरिएको छ ।

भारतबाट आएका शंकास्पद १ सय १६ जनाको ऐन्टीजेन परीक्षण गर्दा ८ जनामा कोरोना संक्रमण देखिएको छ । पर्याप्त मात्रामा परीक्षण नहुँदा धेरै संक्रमित थाहै नपाइ नेपाल प्रवेश गरेको अनुमान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *