राजनीति

नेपाल–खनाललाई छोडेको सन्देश दिने ओली पक्षका यस्ता छन् चार निर्णय (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख १० गते २०:४६
नेपाल–खनाललाई छोडेको सन्देश दिने ओली पक्षका यस्ता छन् चार निर्णय (भिडियो रिपोर्टसहित)

१० वैशाख २०७८ काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षले नेपाल–खनाल पक्षलाई छोडेर अघि बढेको छ । संस्थापन पक्षको आजको बैठकको निर्णय सन्देश र दाबीले त्यही प्रष्ट गर्छ ।

एकलौटी स्थायी समिति गठन
बुधबार र बिहीबार गरी एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच दुई पटक वार्ता भयो । पार्टी विभाजन रोक्ने प्रयासमै दुई नेताबीच भेट भएको थियो । र, सहमति हुन नसकेपनि फेरि बस्ने तयारी थियो । तर अध्यक्ष ओलीले संस्थापन पक्षको बैठक बोलाएर १९ सदस्यीय स्थायी समिति गठन गर्नुभयो ।

जसमा माधवकुमार नेपाल र झलनाथ खनालको पक्षमा लागेका कसैलाई पनि राखिएको छैन । पछिल्लो पटक आफूलाई साथ दिएका चार जना माओवादी नेतालाई स्थायी समितिमा राख्दा ओलीले एक मात्र महिला स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यलाई समेत हटाउनुभएको छ । ओलीले लिएको यो कदमले नेपाल–खनाल पक्ष बिना नै अघि बढेको प्रष्ट सन्देश दिनुभएको छ ।

सांसदबाट हटाउने तयारी
एमालेको संस्थापन पक्षले कर्णालीमा पार्टीको ह्वीप उल्लंघन गर्ने चारजनालाई प्रदेश सांसदबाट मात्रै होइन, पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गर्यो । र, यो कर्णालीको हकमा गरिएको कारवाही मात्रै होइन, स्पष्टिकरण सोधिएका माधवकुमार नेपाल र झलनाथ खनालसहित २७ जनालाई दिइएको सन्देश पनि हो । ओली पक्ष प्रतिनिधिसभाका २७ सदस्यलाई पनि निकाल्ने तयारीमा छ । प्रवक्ता प्रदीप ज्ञवालीको यो भनाईले पनि त्यही पुष्टि गर्छ ।

कार्यविभाजनमा पनि निषेध
एमाले अध्यक्ष ओलीले कार्यविभाजनमा पनि नेपालद्दखनाल पक्षलाई निषेध गर्नुभएको छ । आफूले बनाएको महाधिवेशन आयोजक कमिटीमा राखेपनि कार्यविभाजन गर्दा नेपाल–खनाल पक्षका सबैलाई जिम्मेवारीविहीन बनाइएको छ । जबकी ओलीको पक्षमा लागेका र रामबहादुर थापासँगै माओवादी छोडेका सबैले जिम्मेवारी पाएका छन । यतिसम्मकी आफैले स्थायी समितिमा राखेका वामदेव गौतमलाई पनि जिम्मेवारी दिइएको छैन । गौतम पार्टी काममा नरहेको र नेपाल–खनाल पक्षका नेताहरु पार्टी विरोधी गतिविधिमा रहेकाले जिम्मेवारी नदिइएको तर्क गरिएको छ ।

फुटेको स्वीकार, घोषणा मात्रै बाँकी
अदालतको फैसलापछि एमाले ब्यूँतिए पनि एमालेमा प्रष्ट दुई गुट छ र व्यवहार हेर्दा फूटको औपचारिक घोषणा हुन मात्रै बाँकी छ । ओली पक्षले नेपाल–खनाल र नेपाल–खनाल समूहले ओलीलाई पार्टी फूटाउन खोजेको आरोप लगाइरहेको छ । तर पार्टी सग्लो छैन भन्ने दुवै पक्षले स्वीकारेका छन् । शुक्रबारको बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले आफूहरुलाई एमालेको मूलप्रवाह भन्नुले त्यही स्पष्ट हुन्छ ।

पछिल्ला निर्णयले अध्यक्ष ओली नेपाल–खनाल समूहलाई छोडेर अघि बढेको प्रष्ट भएको छ । आगामी दिनमा नेपाल–खनाल पक्षको रणनीति के हुन्छ त्यो भने हेर्न बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्