ओली एमाले फुटाएर जाँदै हुनुहुन्छ, हामीलाई सांसद पदबाट ओलीले हटाउन सक्दैनन् : नेता भीम रावल
१० वैशाख २०७८ काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओली पार्टी फुटाएर जान लागेको बताउनु भएको छ ।
आज काठमाडौंमा भएको एक कार्यक्रममा नेता रावलले आफूहरु नभई ओली नै पार्टी फुटाएर जान लागेको दाबी गर्नु भएको हो । ‘ओलीजी पार्टी फुटाएर जाँदै हुनुहुन्छ,’ रावलले भन्नुभयो,‘पार्टी फुटाएर गएमा निर्णायक कदम चाल्छौं ।’
उहाँले आफूहरु कुनै हालतमा एमालेबाट नभाग्ने स्पष्ट पार्नुभयो । कसैको धम्कीबाट नडराउने बताउँदै एमालेको आफूहरु निर्वाचित पदाधिकारी भएको बताउनुभयो ।
नवौं महाधिवेशनको म्यान्डेट अनुसार ओली अध्यक्ष भएको र आफूहरु पनि पदाधिकारी भएको बताउनुभयो । रावलले भन्नुभयो,‘हामी नेकपा एमालेमा टाँस्सिएका होइनौं, निर्वाचित पदाधिकारी हौं ।’
उहाँले कुनै व्यक्तिले हटाउँदैमा आफूहरुको सांसद पद नजाने जिकिरसमेत गर्नुभयो । उहाँले सांसद पद जाने गरी विधि विधानविपरीत कार्य नगरेकाले अध्यक्ष केपी शर्मा ओलीले पदमुक्त गर्न नसक्ने तर्क गर्नुभयो । ‘कुनै व्यक्तिले हटाउँदैमा हाम्रो सांसद पद जाँदैन,’ओलीलाई चुनौती दिदै रावलले भन्नुभयो,‘सांसद पदबाट मुक्त हुन संविधानले स्पष्ट रुपमा विधि तोकेको छ भन्ने हेक्काहोस् ।’
विधि र विधानविपरीत कसैले पदबाट हटाउँदैमा नहट्ने तर्क गर्दै ओलीको गतिविधि नेकपा एमाले विभाजनको दिशातर्फ बढिरहेको आरोप लगाउनुभयो। उहाँले सांसद पदबाट आफूहरु हट्न राजीनामा दिनुपर्ने, दल त्याग गर्नुपर्ने, ह्वीप उल्लंघन गरेको हुनुपर्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो,‘हामीले सांसद पदबाट हट्नुपर्ने कुनै त्यस्तो कार्य गरेका छैनौं, कसैले हटाएर हट्दैनौं ।’
उहाँले आफूहरुले अलग पार्टी बनाएको आरोप हाँस्यास्पद भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘अलग पार्टी चलाएको र संचालन गरेका छैनौं ।’
ओलीले सहमतिका लागि भन्दै माधवकुमार नेपालसँग गरेको दुई चरणको भेटलाई भ्रम छर्ने रणनीतिको संज्ञा दिनुभयो । कार्यकर्तामाझ मिलाउन खोजेको थिएँ भनी भ्रम छर्न ओलीले नेताहरुसँग पछिल्लो समय भेटवार्ता गरेको रावलको दाबी छ ।
उहाँले ओलीले गठन गरेको स्थायी कमिटी र महाधिवेशन आयोजक कमिटीलाई अवैधानिक संज्ञा दिनुभयो । अवैधानिक कमिटी बनाएर गरिएको बैठक अवैधानिक नै हुने तर्क गर्दै सहभागी हुन नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘ओलीजी नवौं महाधिवेशनबाट निर्वाचित अध्यक्ष हुनुहुन्छ भने हामी पनि सोही महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष हौं ।’
सहमतिका लागि २ जेठ २०७५ को अवस्थामा नेकपा एमालेको संरचनालाई सक्रिय बनाउनुको विकल्प नभएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया