Main News

मृतावस्थामा भेटिएकी महिलाको पहिचान खुल्यो, हत्या गरेर फ्याँकेको आशंका

हिमालय टिभी
२०७८ वैशाख १० गते ९:३०
मृतावस्थामा भेटिएकी महिलाको पहिचान खुल्यो, हत्या गरेर फ्याँकेको आशंका

१० वैशाख २०७८ डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका तथा पूर्वीचौकी गाउँपालिकाको सीमा क्षेत्र बुढाबाझ बागघेरी सामुदायिक वनमा मङ्गलबार मृतावस्थामा भेटिएकी महिलाको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार मृतावस्थामा फेलापरेकी निज महिला डोटीको आदर्श गाउँपालिका–१ बाँझकाकनी बस्ने ४५ वर्षीया वसन्ती लुहार रहेकी छन् ।

यही वैशाख २ गतेदेखि बेपत्ता भएकी निज महिलाको शव पूर्वीचौकी गाउँपालिका र दिपायल सिलगढी नगरपालिकाको सीमा क्षेत्रमा रहेको बुढाबाझ बागघेरी सामुदायिक वनको पक्की सडकभन्दा करिब ८०० मिटर तल भिरमा फेला परेको थियो । निजको हत्या गरेर फालेको हुनसक्ने स्थानीयवासीको अनुमान छ ।

मृतक महिला त्यहाँ कहिले र कसरी पुगिन् सो विषयमा सूक्ष्म अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटी, मुद्दाफाँटका प्रहरी निरीक्षक कान्तिराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “शव केही दिन पहिलेको जस्तो छ, शरीरभरि किरा परेको छ, ती महिला त्यहाँ कहिले र कसरी पुगिन् सो विषयमा अनुसन्धान शुरु गरेका छौँ ।”

घटना बारेमा विशेष अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । मृतक महिलाको शव अहिले परीक्षणका लागि जिल्ला अस्पताल डोटीमा राखिएको छ । शव परीक्षणपछि मृतकका घरपरिवारलाई हस्तान्तरण गरिने सूचना अधिकारी मल्लले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *