Main News

भेन्टिलेटर र आईसीयू बेड हाहाकार, बिरामीका आफन्तको रुवावासी, सरकार भन्छ–नराम्रो देखाउने खेल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख १० गते ६:३४
भेन्टिलेटर र आईसीयू बेड हाहाकार, बिरामीका आफन्तको रुवावासी, सरकार भन्छ–नराम्रो देखाउने खेल (भिडियो रिपोर्टसहित)

१० वैशाख २०७८ काठमाडौं । कोरोना संक्रमण बढ्दै जाँदा काठमाडौंमै सिकिस्त विरामीका लागि भेन्टिलेटर र आइसीयू अभाव हुन थालेको छ । भेन्टिलेटर नपाएपछि बिरामी छटपटाउन थालेका छन् भने आफन्तको रुवावासी चलेको छ । तर सरकारले भने आफुहरुलाई असफल देखाउन यस्तो प्रचार गरिएको दाबी गरिरहेको छ ।

उहाँ हुनुहुन्छ, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको आइसोलेस वार्ड नजिकै भेटिनु भएका, जनकपुरका दिपेन्द्र सिंह । उहाँका आफन्त कोरोना संक्रमणबाट सिकिस्त हुनुहुन्छ । त्यसैले एम्बुलेन्समा हालेर उहाँले बिरामीलाई जनकपुरबाट काठमाडौं ल्याउनु भयो ।

शुक्रराज ट्रपिकल अस्पताल टेकुमा पुगेका उहाँलाई डाक्टरले बिरामीलाई भेन्टिलेटरमा राख्नु पर्ने तर आफूहरुकोमा भेन्टिलेटर खाली नरहेको बताए ।

त्यसैले उहाँले काठमाडौंका सबैजसो अस्पतालमा भेन्टिलेटर बेडका लागि फोन गर्दै हुनुहुन्थ्यो । तर सबै अस्पतालले भेन्टिलेटर खाली छैन् भनेपछि उहाँ निराश हुनुभयो ।

दिपेन्द्रका २८ वर्षीय आफन्त इन्द्रदेव महतोलाई कोरोना संक्रमण भएसँगै, जनकपुर अञ्चल अस्पतालमा लैजानु भयो । तर जनकपुर अञ्चल अस्पतालदेखि अन्य सबै अस्पतालमा उपचार नहुने भनेपछि उहाँ बिरामीलाई लिएर काठमाडौं आउनु भयो । तर काठमाडौंमा पनि उपचार भएन ।

भेन्टिलेटरमा राख्नु पर्ने इन्द्रदेवलाई टेकु अस्पतालले अक्सिजन दिइरहेको थियो । आफन्तहरु भेन्टिलेटर कतै पाइन्छ कि भनेर बुझिरहेका थिए । भेन्टिलेटरको स्थिति बुझ्न हेल्पलाइन नम्बर ११३३ मा फोन गरेर समस्या सुनायौं । तर त्यहाँबाट पनि भेन्टिलेटर कुनै पनि अस्पतालमा उपलब्ध नभएको खबर आयो ।

यसरी अस्पतालमा भेन्टिलेटरको खोजीमा चक्कर काट्ने दिपेन्द्र जस्ता हजारौं नागरिक छन् । तर उनीहरुले सहजै बेड, अक्सिजन र भेन्टिलेटर पाउने अवस्था छैन ।

बुधबार मात्रै स्वास्थ्य मन्त्रालयले बागमती प्रदेशमा २ सय ५५ वटा भेन्टिलेटर रहेको र त्यसमा ३२ जना मात्र संक्रमित रहेकाले अरु भेन्टिलेटर खाली भएको तथ्यांक सार्वजनिक गरेको छ । तर सरकारले सार्वजनिक गर्ने कागजी तथ्यांक र अस्पतालको स्थिति धेरै नै अन्तर छ ।

त्यही भएर हामी स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमकोमा पुग्यौ । बिरामीले भेन्टिलेटर नपाएको र आफन्तले रुवाबासी गरेको दृश्य देखायौँ । तर प्रवक्ता गौतमले यो सबै सरकालाई नराम्रो देखाउने योजना भएको लगाउनुभयो । र प्रवक्ता गौतमले काठमाडौंको टेकुमा भेन्टिलेटर अभाव भए पनि अरु अस्पतालमा भेन्टिलेटर रहेको दावी गर्नुभयो ।

अस्पतालहरुमा भेन्टिलेटर र आइसीयूको व्यवस्था राम्रोसँग भएको विवरण राज्यले निकालिरहेको छ । र, नागरिकको मृत्यूको मुखमा पुग्दा समेत समस्या स्वीकारेर अघि बढ्न तयार छैन । नागरिकको समस्यालाई नाटक देख्नु सरकारको निर्लज्जता र गैरजिम्मेवारीपनको पराकाष्ठा हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *