Main News

सरकारको खोप अभियान, बाँकी नागरिकले खोप कहिले पाउने हुन् ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख ९ गते २१:०८
सरकारको खोप अभियान, बाँकी नागरिकले खोप कहिले पाउने हुन् ? (भिडियो रिपोर्टसहित)

९ वैशाख २०७८ काठमाडौं । सरकारले ७२ प्रतिशत नागरिकलाई खोप दिने भनेको छ । तर अहिलेसम्म साढे ६ प्रतिशत नागरिकले मात्रै पहिलो डोजको खोप पाएका छन् । पहिलो डोजको खोप लगाउनेलाई दोश्रो डोज दिन थालिएको छ । तर बाँकी नागरिकले खोप कहिले पाउने हुन् अन्योल छ ।

सरकारले देशका ७२ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप दिने घोषणा गरेपनि अहिलेसम्म साढे ६ प्रतिशत नागरिकले मात्र पहिलो डोजको खोप पाएका छन । अर्थात देशका ३ करोड नागरिक मध्ये झण्डै १९ लाख जनाले खोप लगाएका छन् ।

जसमध्ये भारतमा बनेको कोभिसिल्ड खोप लगाउने १८ लाख छन् । यस्तै एक लाखले चीनबाट आएको भेरोसेल खोप लगाएका छन् । कोभिसिल्ड खोप लगाउनेलाई दोश्रो डोज दिन थालिएको छ । त्यसैले अहिले भेरोसेल खोप लगाउन बन्द गरिएको छ ।

प्राथमिकतामा परेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, सरसफाइकर्मी, पत्रकार, सरकारी कर्मचारी लगायतले शुरुमा नै कोभिशिल्ड खोप लगाएका थिए । भारतले अनुदानमा दिएको १० लाख डोज, भारतसँग किनेको १० लाख डोज र कोभ्याक्स सुविधामा पाएको साढे ३ लाख डोज गरी साढे २३ लाख डोज खोप मध्ये १८ लाखले पहिलो डोजको खोप लगाएका थिए । उनीहरु सबैलाई दोश्रो डोज दिनुपर्ने भए पनि सरकारसँग अब ५ लाख डोज मात्र बाँकी छ । अब थप १३ लाख डोज खोप चाहिन्छ ।

सरकारले १० लाख डोज कोभिसिल्ड खोपका लागि भारतको सेरम इन्स्टिच्युटलाई पैसा बुझाइसकेको छ । तर उहिल्यै पाउनुपर्ने खोप सरकारले अझै पाएको छैन । अहिले भारतमै कोरोना संक्रमण तिब्र भएकाले खोपको हाहाकार छ ।

त्यसैले भारतले तत्काल खोप दिने स्थिति छैन । तर त्यो १० लाख डोज खोप र कोभ्याक्स सुविधामा आउने खोपको आशमा सरकारले दोस्रो डोजको खोप अभियान थालेको छ ।

सरकारले चैत १७ गते चीनबाट ८ लाख डोज भेरोसोल खोप पाएको छ । चैत २५ गतेदेखि यो खोप लगाउन सुरु गरिए पनि अहिले कोभिसिल्ड खोपको दोस्रो डोज लगाउन सुरु भएसँगै चीनबाट आएको खोप लगाउने अभियान रोकिएको छ ।

चीनबाट प्राप्त खोप ४ लाख जनालाई पुग्छ । तर पछिल्लो समय कोरोना संक्रमण बढेसँग खोप लगाउने चाहने धेरै छन् । खोप लगाइसकेकाहरु पनि परिवारका सबै सदस्यले खोप नलगाएका कारण ढुक्क हुन छैनन् । उनीहरु आफन्तले पनि चाँडै खोप पाए हुन्थ्यो भन्ने आशमा छन् ।

तर उनीहरुले तत्काल खोप पाउने संभावना छैन । पहिलो चरणमा खोप लगाएका बाहेक देशका ६६ प्रतिशत नागरिकले कहिले, कहाँको खोप दिने भन्ने विषयमा सरकारसँग कुनै योजना नै छैन ।

औषधि व्यवस्था विभागले रुसले उत्पादन गरेको कोरोनाविरुद्धको खोप ‘स्पुतनिक भी’ लाई पनि नेपालमा आपतकालीन प्रयोगको अनुमति दिएको छ । त्यसैले अब त्यो खोपका लागि पनि नेपालमा बाटो खुलेकाले आशा जागेको छ । तर रुसको खोप पनि कहिले आउने हो कुनै टुंगो छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *