अध्यक्ष ओलीले नेपाल पक्षलाई दिए सम्वादको प्रयासलाई कमजोरी नठान्न चेतावनी (भिडियो रिपोर्टसहित)

९ वैशाख २०७८ काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाउन आफूले गरिरहेको संवादको प्रयासलाई कमजोरी नठान्न माधवकुमार नेपाल पक्षलाई चेतावनी दिनुभएको छ ।
पार्टीको ७३ औं स्थापना दिवस एवं लेनिन जयन्तीको अवसर पारेर बल्खुमा आयोजना गरिएको पार्टीको केन्द्रीय कार्यालय भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्र भइरहेको गुटगत गतविधिलाई मान्यता दिन नसकिने र नेताहरुलाई सम्झाउन बुझाउन आफूले गरिरहेको प्रयासलाई कमजोरी नठान्न चेतावनी दिनुभएको हो ।
उहाँले भन्नुभयो ‘सकेसम्म साथीहरुलाई, हरेकलाई हामी गल्ती महशुस गर, अराजकता छोड, अनुशासित भएर पार्टीमा आएर काम गर, त्यो अवसर अहिले पनि दिन चाहिरहेका छौं, अहिले पनि हामी कुरा गरिरहेका छौं । तर यसलाई यदि कसैले कमजोरी ठान्यो भने, यदि कसैले अब पार्टीलाई फेरी बिथोल्न सकिन्छ बिथोल्ने मनसायले व्यवहार गर्न खोज्छ भने अथवा समूहगत रुपमा गुटको प्रतिनिधित्व गर्दै कसैले कुरा गर्न खोज्छ भने त्यो कुरा सम्भव छैन ।’
कुनैबेला आफ्नो पक्षलाई सडकबाट हटाउनेहरुले अहिले अर्को पार्टी ओलेर हिन्दा पनि आफूले कारबाही नगरेर सम्झाईबुझाई गर्ने प्रयास गरिरहेको पनि अध्यक्ष ओलीले बताउनुभयो ।
उहाँले भन्नुभयो ‘उनीहरुले सडकबाट हामीलाई विभिन्न ढङ्गले कारबाही गरेर निकाल्यौं, हटायौं भनेर तमासा गरेका हुन, नगरा पिटाएका हुन् । हाम्राविरुद्ध हामी आन्दोलनबाट पाखा लगायौं भनेर हाम्राविरुद्ध भएको छ । तर यति उपद्रो गर्दा पनि, अर्को पार्टी देशभरी खोलेर हिन्दा पनि अहिलेसम्म हामी कारबाही नगरेर सम्झाईबुझाई गर्ने प्रयास गरिराखेका छौं । अहिले पनि हाम्रो प्रयास सम्झाईबुझाई गर्नेमा छ । अहिले पनि हाम्रो प्रयास सम्झाउनेमा छ सच्चाउनेमा छ । अहिले पनि हाम्रो प्रयास भरसक पार्टीमा क्षति नहोस भन्ने कुरामा छ ।’
पार्टीमा अराजकता निम्त्याउन नपाइने पनि अध्यक्ष ओलीले प्रष्ट पार्नुभयो । अनुशासनहीनतासँग आफूले कहिल्यै सम्झौता गर्न नसक्ने पनि ओलीले बताउनुभयो । अनुशासनहीनता, अराजकता, पार्टी विरोधी गतिविधि, गुटगट गतिविधिलाई अब कुनैपनि हालतमा मान्यता दिन नसकिने बताउनुभयो । यदि कुनै व्यक्ति व्यक्तिगत तवरमा कुराकानी गर्न सक्ने, जिम्मेवारी लिन सक्ने तर पार्टीभित्र गुट बनाएर भागबण्डा नचल्ने बताउनुभयो ।
उहाँले भन्नुभयो ‘पार्टी जे पनि गर्न पाइने अराजकता पनि हुने, अनुशासनहीनता पनि चल्ने, यस्तो खालको ठाउँ चाहीँ होइन । पार्टी अनुशासित बनाउनुपर्छ हामीले अनुशासनहीनतासँग हामी सम्झौता गर्न सक्दैनौं । अराजकतासँग हामी सम्झौता गर्न सक्दैनौं । हामी अनुशासनहीनता, अराजकता, पार्टी विरोधी गतिविधि, गुटगत गतिविधिलाई अब कुनैपनि हालतमा मान्यता दिन सक्दैनौं । त्यसकारण मैले भनेको छु व्यक्तिगत तवरमा कुराकानी हुन सक्छ व्यक्तिगत तवरमा कुरा गर्ने, व्यक्तिगत कुरामा सच्याउने, व्यक्तिगत तवरमा जिम्मेवारी दिने कुरा हुन सक्छ । समूहगत रुपमा पार्टीभित्र गुट बनाउने, अनि मेरो गुटको यति भाग भन्ने यस्ता भागवण्डाहरु अब उपरान्त पार्टीमा चल्दैन ।’
कुनैबेला आफूलाई कारबाही गर्नेहरुबाट अहिले संसदमा फ्लोर क्रस गर्ने काम भएको उल्लेख गर्दै अध्यक्ष ओलीले यस्तो किसिमको अराजक गतिविधि नेपालको संसदीय इतिहासमा कहिल्यै नभएको पनि बताउनुभयो । संसदमा फ्लोर क्रस गरेर कम्युनिष्ट पार्टीलाई सिध्यायौं भनेर गर्व गर्नेहरुसँग आफूहरु जुधिरहेको पनि बताउनुभयो ।
उहाँले भन्नुभयो ‘पार्टीकै नाउँमा पार्टीभित्रबाट कहिं फ्लोर क्रस गर्ने नेपालको संसदीय आन्दोलन, लोकतान्त्रिक आन्दोलन र संसदीय इतिहासमा यति सारो अराजक, यस्तो दृष्य कहिं कहिल्यै पनि देखिएको छैन । बरु अलग भएका छन् । पार्टीभित्रै बस्ने अनुशासनहीन काम गर्ने, फ्लोर क्रस गर्ने र गर्व गर्ने त्यसमा पनि, फ्लोर क्रस गरेर कम्युनिष्ट पार्टीलाई कमजोर पारेकोमा गर्व गर्ने यस प्रकारका प्रवृत्तिहरु हामीले देखेका छौं । यस्ता प्रवृतिहरुका विरुद्ध हामी जुधिरहेका छौं र हाम्रो पार्टी मजवुद छ । हाम्रो पार्टीले, हामीले प्रतिनिधि सभा विघटन गरेका थियौं परिस्थिति बस प्रतिनिधि सभा पुनर्स्थापना भएको छ । केही छैन त्यसमा हामीलाई पार्टीविहीन बनाउने अवस्थामा लान खोजिएको थियो त्यसलाई हामीले असफल पारेका छौं । आन्दोलन फेरी हामी सफलतापूर्वक अगाडि बढेका छौं । जितका साथ अगाडि बढेका छौं । अगाडि बढ्ने छौं । म कमरेडहरुलाई विश्वास दिलाउन चाहन्छु । कुनै प्रकारले पनि निराश हुनुपर्ने अवस्था छैन ।’
प्रचण्ड–माधव पक्षले कम्युनिष्ट आन्दोलन सिध्याउन टाउको मै हान्नुपर्छ भनेर आफूलाई पटकपटक साधारण सदस्यबाट निकालेको कुरा पनि अध्यक्ष ओलीले बताउनुभयो । आफूलाई पार्टीविहीन अवस्थामा पु¥याउने उनीहरुको प्रयास असफल भएको पनि बताउनुभयो ।
उहाँले भन्नुभयो ‘म ५६ वर्ष अगाडिदेखि कम्युनिष्ट आन्दोलनमा लागेको छु । ५० वर्ष अगाडि एउटा नयाँ आन्दोलन शुरु गरेर जतिबेला आन्दोलन विभाजित थियो त्यस बेलादेखि लागेको छु । तर म माथिबाट हमला शुरु भयो । मलाई हमला पनि यस्तो भयो की साधारण सदस्यताबाट पनि निष्काशन गर्ने । दलको नेताबाट हटाउनु एउटा कुरा थियो, अध्यक्षबाट हटाउनु एउटा कुरा थियो तर साधारण सदस्य पनि नरहने गरी उद्घोष थियो केपी ओलीलाई सिध्याइयो । केपी ओलीलाई समाप्त पारियो । पत्तासाफ गरियो, भित्तामा टसाईदिन्छु, भित्तामा टसाएँ, धुलोमा मिलाइदिन्छु, धुलोमा मिलाएँ आदि । म माथि किन त्यस्तो आक्रमण थियो भन्दा टाउकोमा हान्ने हो भने शरीर सग्लै भएपनि टाउकोमा हान्दियो भने त रन्थनिने भयो नी । अथवा ढल्ने भयो नी । त्यही टाउकोमा हान्ने नीति उनीहरुको रह्यो ।’
प्रतिक्रिया