आज विश्व पृथ्वी दिवस नेपालमा पनि विविध कार्यक्रमसहित मनाइँदै
९ वैशाख २०७८ काठमाडौं । आज २२ अप्रिल विश्व पृथ्वी दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । पृथ्वीलाई पुनर्स्थापित गरौं भन्ने नाराका साथ १९२ भन्दा बढी देशमा दिवस मनाउन लागिएको हो ।
पृथ्वीमा बढ्दै गएका विकराल समस्या समाधान न्यूनीकरण गर्न र मानिसलाई प्रेरित गराउन यो दिवस मनाउने गरिन्छ । सन् १९७० अप्रिल २२ तारिखमा विश्वमा पहिलो पटक यो दिवस अमेरिकाले मनाएको थियो ।
सन् १९६९ सान फ्रान्सिस्कोमा युनेस्कोको सम्मेलनमा शान्ति कार्यकर्ता जोन म्याक कोनेलले १९७० मा उत्तरी गोलार्धको वसन्त ऋतुको पहिलो दिन मार्च २१ बाट मनाउने गरी पृथ्वीको सम्मान तथा शान्तिको अवधारणाको लागि एक दिनको माग गर्नु भएको थियो ।
तर पछि अमेरिकी सिनेटर गेलर्ड नेल्सनले सन् १९७० मा पर्यावरण शिक्षाको रुपमा एक छुट्टै पृथ्वी दिवसको सुरुवात गर्नुभयो ।
त्यस्तै सन् २००९ मा राष्ट्रसंघको ६३ औं महासभाले अप्रिल २२ तारिखलाई विश्वभर पृथ्वी दिवसका रुपमा मनाउने निर्णय गरे अनुसार अहिले यो दिवस विश्वभर मनाइन्छ । यो वर्ष कोरोना महामारीका कारण दिवस औपचारिकतामा सिमित हुने भएको छ ।
प्रतिक्रिया