Main News

स्वास्थ्य परीक्षण प्रतिवेदन अस्वीकार हुँदा विदेश हिँडेका १२२ यात्री विमानबाट ओरालिए

हिमालय टिभी
२०७८ वैशाख ८ गते १७:५७
स्वास्थ्य परीक्षण प्रतिवेदन अस्वीकार हुँदा विदेश हिँडेका १२२ यात्री विमानबाट ओरालिए

८ वैशाख २०७८ काठमाडौं । कोभिड–१९ सङ्क्रमण नभएको स्वास्थ्य परीक्षण प्रतिवेदनलाई मान्यता नदिइँदा १२२ यात्री आज विमानबाट ओरालिएका छन् ।

सुरिया हेल्थ केयर प्रालि र मेरिट मल्टिकेयर मेडिकल सेन्टरले जारी गरेका पोलिमर्से चेन रियाक्सन (पिसिआर) रिपोर्ट नक्कली भएको आशङ्का उनीहरूलाई यात्रा अनुमति नदिइएको हो ।

सिनामङ्गस्थित सुरिया हेल्थ केयर र मेरिट मल्टिकेयर सेन्टरले स्वाब परीक्षण नै नगरी प्रतिव्यक्ति रु नौ हजारमा नक्कली रिपोर्ट जारी गरेको अभियोगमा मङ्गलबार दुवै संस्थाका आठजना कर्मचारी पक्राउ परेपछि सम्बन्धित विमान कम्पनी र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा अधिकारीले उनीहरूलाई विमानबाट झारेका हुन् ।

एयर अरेबियाको उडानबाट सारजाँ जान लागेका ५४ जना, सलाम एयरमा चढेर ओमान हिँडेका ३२ र जजिरा एयरको उडानमा कुवेत गन्तव्य बनाएका ३६ जनालाई विमानबाट उतारिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले राससलाई बताउनुभयो । आज यात्रा गर्न नपाएका ती यात्रीलाई सम्बन्धित विमान कम्पनीले यात्राको पुनः व्यवस्था गर्ने नगर्नेबारेमा उनीहरूबाट कुनै निर्णय नभएको उहाँले जानकारी दिनुभयो ।

आजै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थप ५० जनालाई फर्काइएको विमानस्थल सुरक्षा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले बताउनुभयो । विमानबाट उतारिएका र विमानस्थलबाट प्रस्थान गर्न नपाएकामध्ये ६८ भारतीय नागरिक छन् । सुरिया हेल्थ केयर र मेरिट मल्टिकेयर सेन्टरले जारी गरेका स्वास्थ्य प्रतिवेदन यात्रीसँग भएकाले उनीहरूलाई अनुमति नदिइएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *