Main News

बालुवाटारमा तामझाम: प्रधानमन्त्रीबाटै स्वास्थ्य मापदण्ड उल्लंघन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख ७ गते २०:३२
बालुवाटारमा तामझाम: प्रधानमन्त्रीबाटै स्वास्थ्य मापदण्ड उल्लंघन (भिडियो रिपोर्टसहित)

७ वैशाख २०७८ काठमार्डौं । कोरोना संक्रमण बढेपछि सरकारले नियन्त्रणका लागि भन्दै हिजो स्वास्थ्य मापदण्ड जारी गर्‍यो । तर त्यसको उल्लंघन गर्नेमा प्रधानमन्त्री केपी शर्मा ओली नै अग्रपंक्तिमा देखिनुभएको छ ।

मापदण्ड अनुसार शहरी क्षेत्रमा विद्यालय बन्द गरिएको छ । तर प्रधानमन्त्रीले भने भेला र कार्यक्रम गरिरहनुभएको छ । प्रधानमन्त्री नै अध्यक्ष रहेको दलले पनि कार्यक्रम जारी राखेको छ । यसबाट आदेश जारी गर्नेले पालना गर्न नपर्ने हो ? भन्ने प्रश्न उब्जिएको छ ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा निकै भिडभाड देखियो । यो दृश्य कोरोना संक्रमण रोकथामका लागि सरकारले जारी गरेका आदेश र स्वास्थ्य मापदण्ड विपरितका हुन् । जुन आदेश सोमबार विहानै प्रधानमन्त्री निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको थियो ।

आदेशको चौथो नम्बर बुँदामा भनिएको छ– ‘मठ मन्दिर मस्जिद, गुम्बा, चर्चलगायतका धार्मिकस्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी वैशाख मसान्तसम्म नित्य पूजा, ध्यान र प्रार्थना मात्र गर्ने–गराउने ।’

आदेशको ६ नम्बर बुँदामा, ‘मेला, महोत्सव, जात्रा, पर्व, विवाह, न्वारान, पास्नी, व्रतबन्ध, धार्मिक अनुष्ठान, मलामी लगायतका अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलाप सञ्चालन गर्दा २५ जनाभन्दा बढी नहुने उल्लेख छ ।

तर प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान आफैंले अध्यक्षता गरेर जारी गरेको मापदण्ड दिउँसो आफैंले अध्यक्षता गरेर बालुवाटारमै उल्लंघन गर्नुभयो । अर्थात सोमबारै प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा (एमाले) दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बस्यो । त्यहाँ स्वास्थ्य मापदण्ड पालना गरेर बैठक गरिएको दाबी त गरिएको छ । तर २५ जनाभन्दा बढी भेला हुन नपाउने नियमको पालना भएन ।

सोमबार दिउँसो मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पार्वत गुरुङले स्वास्थ्य मापदण्ड पालना गर्नकै लागि संसद अधिवेशन समेत अन्त्य गरिएको जिकिरसमेत गर्नुभएको थियो ।

तर सरकारका प्रवक्ताको बोली र व्यवहारमा अलिकत्ति पनि मेल नखाने दृश्य मंगलबार विहानै बालुवाटारमा देखियो । प्रधानमन्त्री ओली र उहाँकी श्रीमती राधिका शाक्यकै उपस्थितिमा तामझामका साथ सयौँको उपस्थितिमा ‘श्री सीताराम शोभा रथयात्रा स्थापना समारोह’ गरियो ।

सरकारले सार्वजनिक गरेको आदेशमा वैशाख मसान्तसम्म प्रार्थनाबाहेकका धार्मिक समारोहहरू नगरिने भनिएको छ । तर, प्रधानमन्त्रीले उद्घाटन गरेको यो रथ यात्राका लागि चितवनको देवघाटमा ८ सय र माडीमा १५ सय जनालाई भोजको व्यवस्था गरिएको छ ।

सरकारी आदेशको उल्लङ्घन गर्दै मङ्गलबार बिहान बालुवाटारमा प्रधानमन्त्रीले पूजा गरेको ठाउँमा सयौं मानिस सहभागी भए ।

सरकारले सोमबार जारी गरेको आदेशको १८ नम्बर बुँदामा भनिएको छ,‘स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट जारी भएका मापदण्ड, योजना र आदेश सङ्घीय निकाय, प्रदेश सरकार, स्थानीय तह, सार्वजनिक तथा निजी सङ्घ संस्थाले पालना गनुपर्ने ।’ सरकारी आदेश एवं स्वास्थ्यका मापदण्डहरु पालना भए–नभएको अनुगमन गर्ने र कारवाही गर्ने जिम्मेवारी प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई दिइएको छ । आदेशको २५ (क) मा मापदण्ड पालना नभएको पाइएमा सिडिओले अनुगमन गरी पालना गराउने भनिएको छ ।

मुख्यसचिव शङ्करदास बैरागीद्वारा हस्ताक्षरित आदेशको अन्त्यमा भनिएको छ, ‘यस आदेशको पालना गर्नु सबैको कर्तव्य हुनेछ । यस आदेशको अवज्ञा गर्ने वा आदेश कार्यान्वयनमा बाधा पुर्‍याउने व्यक्ति तथा संस्थालाई सङ्क्रामक रोग ऐन २०२० बमोजिम कारबाही र सजाय हुनेछ ।

उसो भए आदेश उल्लङ्घन गर्ने प्रधानमन्त्री ओलीलाई अब के सजाय हुन्छ ? कि कानुन जनतालाई मात्र लाग्छ ? ठूलाबडालाई लाग्दैन ? प्रश्न उठेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *