राजनीति

नेपाल र खनालसहित २७ जनाको सांसद पद खोस्ने ओलीको तयारी, यस्तो छ आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख ७ गते १९:३८
नेपाल र खनालसहित २७ जनाको सांसद पद खोस्ने ओलीको तयारी, यस्तो छ आरोप (भिडियो रिपोर्टसहित)

७ वैशाख २०७८ काठमाडौं । नेकपा एमालेका संस्थापन पक्षले माधवकुमार नेपाल र झलनाथ खनालसहितका २७ जना नेतालाई सांसदबाट हटाउने तयारी अघि बढाएको छ । अर्को दल गठन गरेको गम्भीर आरोप लगाउँदै प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई हटाउने प्रक्रिया अघि बढाउनुभएको हो ।

त्यसका लागि ओलीले उनीहरुलाई स्पष्टिकरण सोध्नुभएको छ । सांसद हटाउने समेत अख्तियार लिएका ओलीले तीन दिन भित्र उचित जवाफ नआए हटाउने चेतावनी दिनुभएको छ ।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफू विरुद्ध लाग्नेलाई सांसदबाट हटाउने तयारी थाल्नुभएको छ । त्यसका लागि अन्तिम मौका भन्दै माधवकुमार नेपाल, झलनाथ खनाल सहित यो खेमाका २७ जना प्रतिनिधिसभा सदस्यलाई स्पष्टिकरण सोधिएको छ ।

माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेलाई दुई दिन भित्र र अरु २२ जनालाई तीन दिन भित्र स्पष्टिकरण बुझाउन निर्देशन दिइएको छ । चित्त बुझ्दो जवाफ नआए संघीय संसदको सदस्यबाट हटाउने चेतावनी दिइएको छ ।

यस्तै कर्णालीमा फ्लोर क्रस गर्ने प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही, अमर थापा र देवी ओली पनि यो सूचिमा हुनुहुन्छ । दल र सांसदबाट हटाउन चार वटा कारण अघि सारिएको छ ।

अलग पार्टी बनाएर चुनाव चिन्हको दुरुपयोग गरेको
एमाले अध्यक्ष ओलीले नेपाल खनाल पक्षमाथि अलग राजनैतिक पार्टी गठन गरेको आरोप लगाउनुभएको छ । चैत ४ र ५ गते काठमाण्डौमा भएको राष्ट्रिय भेला, केन्द्रीय कमिटीदेखि मातहत प्रदेश र जिल्ला कमिटी र जनसंगठनका क्रियाकलाप अलग राजनैतिक दलकै रुपमा भएको अध्यक्ष ओलीको ठहर छ ।

यी सबै गतिविधि गर्दा पार्टीको नाम र चुनाव चिन्ह सूर्य नेपाल खनाल पक्षले दुरुपयोग गरेको आरोप लगाइएको छ । र, त्यसलाई उहाँले दल त्यागका रुपमा व्याख्या गर्दै संघीय संसद सदस्यबाट हटाउने चेतावनी दिनुभएको छ ।

राष्ट्रहित विपरित काम गरेको
२७ सांसदको पद खोस्न अध्यक्ष ओलीले नेपाल खनाल पक्षमाथि राष्ट्रहित विपरित काम गरेको अर्को गम्भीर आरोप लगाउनुभएको छ । ओलीले सोधेको स्पष्टिकरणमा गोपनियता भंग गरेको, नयाँ राजनैतिक दलको स्वरुपमा पार्टी विरोधीसंग साँठगाँठ गरेको, अवाञ्छित तत्वसँग साँठगाँठ गरी राष्ट्रहीत विपरित काम गरेको गम्भीर आरोप लगाइएको छ । लोकप्रिय सरकारले राष्ट्रहित तथा जनहितका लागि गरिरहेका र गर्नुपर्ने काम विभाजनको दिशामा लगेको समेत आरोप लगाइएको छ ।

नेतृत्व विरुद्ध शत्रुवत दुस्प्रचार गरेको
पार्टी अध्यक्ष र संसदीय दलको नेताका हैसियतमा स्पष्टिकरण सोधेका ओलीले पार्टीको निर्णय, नीति, नेतृत्वविरुद्ध शत्रुवत दुस्प्रचार र भ्रम फिजाउने काम गरेको नेपाल खनाल पक्षका सांसदहरुलाई आरोप लगाउनुभएको छ ।

माधवकुमार नेपालप्रति आक्रामक
स्पष्टिकरण सोध्दा अध्यक्ष ओली नेता माधवकुमारनेपाल प्रति निकै आक्रामक हुनुहुन्छ । कर्णालीमा ‘फ्लोर क्रस’ गर्न किन निर्देशन दिएको भनेर नेपाललाई स्पष्टीकरण सोधिएको छ। कर्णाली प्रदेश सभाका सदस्यलाई उचाल्दै भट्काउँदै अनुशासनहीन अराजक एवं पार्टी विरोधी क्रियाकलाप गर्न दुरुत्साहन गर्ने फ्लोर क्रस गरी पार्टीको ह्विप उल्लंघन गर्दै मतदान गर्न निर्देशन दिनेजस्ता अनुशासनहीन र आपराधिक कार्य समेत गरेको नेपालमाथि आरोप छ ।

जुनसुकै बेला कारवाही
यी आरोप लगाएर स्पष्टिकरण सोधेका ओलीले यसलाई सच्चिने अन्तिम मौका भन्नुभएको छ । र, पार्टी विरोधी गतिविधि बन्द गरी दलको पक्षमा आउने प्रतिवद्धता सहितको सप्रमाण जवाफको अपेक्षा गरिएको छ । अन्यथा जुनसुकै बेला कारवाही गर्नेचेतावनी दिइएको छ । र, त्यो दल र संघीय सांसदबाट निकाल्ने प्रष्ट उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्