कुनकुन सहरका विद्यालय बन्द हुँदैछन्, अरु कुनकुन क्षेत्र बन्द हुँदैछन् ?

६ वैशाख २०७८ काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका तीनसहित २० जिल्ला कोरोना संक्रमणबाट अति प्रभावित भन्दै ती जिल्लाका सहरी क्षेत्रका विद्यालय बन्द गरेको छ ।
काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, चितवन, रुपन्देही, बाँके, दाङ, सुर्खेत, कैलाली, कञ्चनपुर, बारा, पर्सा, सप्तरी, धनुषा, झापा, मोरङ, सुनसरी, बाग्लुङ, कञ्चनपुर र काभ्रेलाई अति प्रभावित जिल्ला मानेको हो । यी जिल्लाका सहरी क्षेत्रका विद्यालय बन्द गर्दै सरकारले भर्चुअलमाध्यबाट पठनपाठन गराउन आदेश दिएको छ ।
विद्यालयमा पठनपाठन बन्द भए पनि सरकारले पूर्वनिर्धारित परीक्षा भने स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गरिने स्पष्ट पारेको छ ।
सिनेमा हल, पार्टी प्यालेस, जीमखाना, स्विमिङ पुल, फुटसल, सभा, लगायत मानिसको भिडभाड हुने सबै प्रकारका कार्यक्रम बैशाख मसान्तसम्म बन्द गर्न सरकारले आदेश दिएको छ । सरकारले कोरोना जोखिम रहेका ठाउँमा २५ जना भन्दा बढी भेला हुन बन्देज गरेको छ ।
होटल तथा रेष्टुरेन्ट भने स्वास्थ्य मापदण्ड पालना गरेर बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म खोल्न पाइने छ ।
सरकारले मठमन्दिर मस्जिद, चर्च लगायतका धार्मिक स्थलमा पनि भिडभाड नगर्न आग्रह गरेको छ । वैशाख मसान्तसम्म ती स्थलहरुमा नित्य पूजा, ध्यान र प्रार्थना मात्रै गर्न सरकारले भनेको छ ।
सार्वजनिक यतायातमा सिट क्षमता भन्दा बढि यात्रु नराख्न, सबै यात्रुमा मास्क अनिवार्य गर्न, सवारी साधनभित्र, स्यानिटाइजरको व्यवस्थापन गर्न, सवारी साधनलाई दैनिक रुपमा निसंक्रमण गर्न पनि सरकारले भनेको छ ।
सार्वजनिक यातायातमा १० रुपैयाँमा यात्रुलाई मास्क उपलव्ध गराउन र मास्क नलगाउने व्यक्तिलाई सवारी साधनमा नराख्न सरकारले निर्देशन दिएको छ ।
प्रतिक्रिया