राजनीति

माधव नेपालसहित आठ जना नेतासँग स्पष्टिकरण सोध्ने एमाले संस्थापन पक्षको निर्णय

हिमालय टिभी
२०७८ वैशाख ६ गते १८:४७
माधव नेपालसहित आठ जना नेतासँग स्पष्टिकरण सोध्ने एमाले संस्थापन पक्षको निर्णय

६ वैशाख २०७८ काठमाडौं । नेकपा (एमाले) ले कर्णाली प्रदेशमा अनुशासनहीन गतिविधि गर्नको निम्ति नेतृत्व गरेको भन्दै माधवकुमार नेपालसहित ८ जना नेतालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा(एमाले) दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकले यसअघि सोधिएको स्पष्टिकरण चित्त बुझ्दो नभएको र कर्णाली प्रदेशमा अनुशासनहीन गतिविधि गर्नका लागि नेतृत्व गरेको भन्दै नेताहरु माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई दुई दिने स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।

त्यसैगरी कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने प्रदेश सभा सदस्यहरु प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पनि स्पष्टिकरण सोध्ने निर्णय गरेको प्रवक्ता प्रदीप कुमार ज्ञवालीले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर पार्टी ह्वीप उल्लंघन गर्ने ४ जना प्रदेश सभा सदस्यसहित अस्ति स्पष्टिकरण सोधेर चित्तबुझ्दो स्पष्टिकरण नदिनुभएका र हाल निलम्बनमा पर्नुभएका तर कर्णाली प्रदेशमा त्यो ढङ्गको अनुशासनहीन गतिविधि गर्नका निम्ति नेतृत्व गर्नुहुने ४ जना नेताहरुलाई थप दुई दिनको समय राखेर स्पष्टिकरण सोध्ने समेत पनि निर्णय यो बैठकले गरेको छ ।’

बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्दै जुनसुकै बेला निर्वाचनमा जानुपर्ने भएकाले त्यसका निम्ति तयार रहन पार्टीपंक्तिलाई आव्हान गर्नुभएको प्रवक्ता ज्ञवालीले बताउनुभयो । बैठकले विभाजनकारी गतिविधिमा लागेका नेता, कार्यकर्तालाई त्यस्ता गतिविधि बन्द गरी पार्टीमा फर्किन समेत आग्रह गरेको छ ।

ज्ञवालीले भन्नुभयो ‘कुनैपनि बेला निर्वाचनमा जानुपर्ने भएका कारणले त्यसका लागि तयार हुनको निम्ति पार्टी पंक्तिलाई आव्हान गरेको छ । विभाजनकारी गतिविधिमा लागेका साथीहरुलाई ति गतिविधिहरु बन्द गरेर पार्टी एकतालाई सुदृढ गर्न फेरि पनि फर्किनको निम्ति आव्हान गरेको छ । नफर्के कारबाहीको विषय बन्ने कुराहरुलाई उल्लेख गरिएको छ ।’

महासचिव ईश्वर पोखरेलले पेश गरेको सङ्गठनात्मक प्रतिवेदन पनि बैठकले पास गरेको छ । प्रतिवेदनमा पार्टीलाई व्यवस्थित बनाउनको निम्ति ६ महिने कार्ययोजना बनाइएको छ । जसअनुसार जेठ मसान्तसम्म प्रदेशदेखि पालिकासम्मका सबै कमिटीको पुनर्गठन गर्ने, असार मसान्तसम्म पार्टी सदस्यता नवीकरण गरिसक्ने, भदौमा वडा, पालिका र जिल्ला अधिवेशन गर्ने, असोजमा प्रदेश अधिवेशन गर्ने र मंसिरमा पार्टीको महाधिवेशन गर्ने सङ्गठनात्मक कार्यतालिका रहेको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो । महाधिवेशन आयोजक कमिटीको अर्को बैठक बैशाख १० गते बस्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्