राजनीति

भारतविरोधी नाराबाट उदाएका प्रधानमन्त्री ओली भारतकै टाङमुनि छिरेः सभापति देउवा

हिमालय टिभी
२०७८ वैशाख ६ गते १८:१७
भारतविरोधी नाराबाट उदाएका प्रधानमन्त्री ओली भारतकै टाङमुनि छिरेः सभापति देउवा

६ वैशाख २०७८ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली भारतको शरणमा पुगेको आरोप लगाउनुभएको छ ।

आज नेपाल विद्यार्थी संघको ५२ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले भारत विरोधी नाराबाट उदाउनुभएका ओली अहिले भारतसामु त्वंशरणम् भएको बताउनुभएको हो ।

त्यसैले प्रधानमन्त्री ओलीसँग कुनै राष्ट्रवाद नरहेको पनि स्पष्ट पार्नुभयो । कम्युनिष्टहरु अवसरवादी भएकाले अहिले नै कांग्रेसको नेतृत्वमा सरकार बन्ने खालको परिस्थिति आइनसकेको बताउनुभयो ।

आशा नभए पनि सम्भावना भएकाले आफूले सरकार परिवर्तन गर्ने विषयमा छलफल गरिराखेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो ‘हिजो सबैभन्दा राष्ट्रवादी भन्ने ओली अहिले इन्डियाकोको त्वंशरणम् भए । भारत विरोधी नाराबाट झुल्केका ओली अहिले भारतको टाङमुनि छिरिनै सके । कहाँ छ उनको राष्ट्रवाद ? त्यसकारण यिनीहरु राष्ट्रवादी पनि होइन, केही होइन । यिनीहरु खाली एउटा अवसरवादी हुन् । त्यसकारण हेर्दै जाऔं परिस्थिति के हुन्छ । मैले धेरै आशा पनि राखेको छैन र सम्भावना पनि उत्तिकै छ । राजनीति भनेको सम्भावनाको खेल पनि भन्छन् । आर्ट अफ पोसिबिलिटी पनि भन्छन् त्यसकारण हामीहरु लागिरहेका छौं ।’

आफूले प्रधानमन्त्री ओलीलाई हटाउन नचाहेको भन्ने कुरा सत्य नभएको पनि सभापति देउवाले बताउनुभयो । ओली सरकारले हरेक ठाउँमा हातकडी लगाएर राजनीतिलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको पनि बताउनुभयो । त्यसैले ओलीलाई हटाउने कुरामा सल्लाह भइराखेको र अहिले नै भन्न सक्ने स्थिति नरहेको बताउनुभयो ।

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार बन्न नसक्ने पनि सभापति देउवाले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘नेपालमा धेरै ठूलो चुनौति आएको छ । प्रजातन्त्रमाथि खतरा आएको छ । एकातिर ओलीको सरकारले सम्पूर्ण राजनीति हरठाउँमा हातकडी लगाएर कन्ट्रोल गर्न खोजिरहेको छ । अर्कोतिर पाण्डामिकको पनि हाहाकार छ । त्यसैले ओलीलाई हटाउन चाहिहाल्छु नी किन चाहँदैन मैले । कुरा के हो भने स्योरसट हुनुप¥यो । त्यो सम्बन्धमा सल्लाह पनि हुँदैछ । अहिले मैले केही भन्न सक्ने अवस्था छैन । झुट बोलेर काम पनि छैन् । मैले तपाईहरुलाई भनिसकेँ प्रचण्डको पार्टीले फिर्ता लिएकै छैन । बहुमतको सरकार छ त्यहाँ । अहिलेसम्म बहुमतको सरकार भन्नु प¥यो नी फिर्ता निलएसम्म त । माओवादी र एमाले मिलेर बहुमत छ । के गर्ने अब । प्रचण्डले फिर्ता लिएका छैनन् ।’

कार्यक्रममा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले सरकार संवैधानिक निकायहरुलाई कब्जा गर्ने उद्देश्यसहित अगाडि बढिराखेको बताउनुभयो । त्यसका लागि सरकारी संयन्त्र र शक्तिको भरपुर दुरुपयोग भइरहेको पनि बतानुभयो । न्यायपालिका, निर्वाचन आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग सबैको निष्पक्षता र स्वतन्त्रता गुम्ने खतरा रहेको पनि बताउनुभयो ।

नेता सिटौलाले सरकारबाट प्रेस स्वतन्त्रता र नागरिक स्वतन्त्रतामाथि पनि अङ्कुश लगाउने खतरा बढेको बताउनुभयो । सरकार जसरी पनि संवैधानिक प्रबन्धको दुरुपयोग गरी सिङ्गो लोकतन्त्रमाथि प्रहार गर्ने दिशामा अगाडि बढिरहेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्